• १५ वैशाख २०८१, शनिबार

रूपान्तरणकारी योजना

blog

सङ्खुवासभाको विकट क्षेत्र भोटखोला गाउँपालिकामा माथिल्लो अरुण जलविद्युत् परियोजना (१०६१ मे.वा.) बन्ने निश्चित भएको छ। यस परियोजनालाई नेपाल सरकारले रूपान्तरणकारी योजनाका रूपमा अघि बढाएको छ । परियोजनाको पावर हाउसदेखि बाँध निर्माणस्थलसम्म पुग्ने करिब २१ कि.मि. लामो पहुँचमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा पुगेको र पहुँच मार्ग निर्माणकर्ता छनोटको निमित्त ठेक्का आह्वान भइसकेको छ। यो परियोजना नेपाल सरकार आफैँले निर्माण गर्ने निर्णय भई नेपाल विद्युत् प्राधिकरणलाई यसको अगुवाइ गर्ने जिम्मेवारी दिइएको हुँदा परियोजनाका लागि आवश्यक लगानी सुनिश्चित गर्न नेपाल सरकारबाट लगानीकर्तासँग छलफल भइरहेको र यो प्रक्रियासमेत लगभग अन्तिम टुङ्गोमा पुग्ने अवस्थामा रहेको बुझिएको छ। 

भोटखोला गाउँपालिकामा पर्ने किमाथाङका नेपाल र चीनको सीमा नाका हो। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बगेर आउने अरुण नदी किमाथाङ्काबाट नेपालतर्फ प्रवेश गर्छ। नेपाल प्रवेश गरेपछि अरुण नदी भोटखोला गाउँपालिकालाई बीचबाट चिरेर मकालु गाउँपालिका हुँदै तलतिर झर्दछ। सप्तकोसी नदीका सातवटा सहायक नदीमध्ये अरुण नदी सबैभन्दा ठूलो छ । निकै गहिरो खोँचबाट तलतिर झर्ने यस नदीमा हालसम्म पाँचवटा ठूला जलविद्युत् परियोजनाको पहिचान र सम्भाव्यता अध्ययन भई केही परियोजना निर्माण प्रक्रियामा अघि बढिसकेका छन्। यसमध्ये तीनवटा परियोजना किमाथाङ्का अरुण (४५० मे.वा.), अपर अरुण ( १०६१ मे.वा.) र अरुण चौथो (करिब ६०० मे.वा.) भोटखोला गाउँपालिकाको भूभागमा पर्छन्। 

भोटखोला गाउँपालिकामा अधिकांशतः भोटे जातिका मानिसको बसोवास छ। यहाँ मूलतः भोटे संस्कृति, भोटे भाषा र भोटे जातिका परम्परा, संस्कार एवं रीतिरिवाजले विविधतामा आधारित सुन्दर नेपाली संस्कृतिको निर्माण, विकास र जगेर्ना गर्ने काम गरिरहेको छ। भोटखोला गाउँपालिकाको सम्पूर्ण भूभागलाई नेपाल सरकारबाट निषेधित क्षेत्र घोषणा गरिएको र विदेशीको प्रवेश तथा उपस्थिति नियन्त्रित रूपमा मात्र हुन पाउने व्यवस्था मिलाइएको छ।

अत्यन्त दुर्गम, कठिन र जोखिमयुक्त भू–धरातलका कारण यस स्थानमा बाह्य मानिसको पहुँच र प्रभाव सीमित रहेको हुँदा आजसम्म यहाँका परम्परागत मौलिक संस्कृति र सम्पदा जीवन्त रहेको अवस्था छ । पछिल्लो समयमा यातायातको पहुँचमा क्रमशः सुधार हुँदै गएको, ठूल्ठूला विकास निर्माणका योजना सुरु भएको, आधुनिक यन्त्र उपकरणलगायत प्रविधिको प्रयोग बढ्दै गएको तथा बाह्य मानिसको आवतजावत र अन्य क्रियाकलापसमेत वृद्धि हुँदै गएकाले भोटखोला गाउँपालिकाको सामाजिक बनोट तथा आर्थिक सामाजिक अवस्थामा परिवर्तनको लागि दबाब बढ्न थालेको छ। 

विगत लामो समयदेखि किमाथाङ्का पारिपट्टि चीनको चाँगाबजार भोटखोलावासी नेपाली नागरिकको रोजगारी, आयआर्जन वा खरिद बिक्रीको केन्द्र बनेको थियो। भोटखोला गाउँपालिकाका 

किमाथाङ्का, छुम्सुर, रिदाक, थुदाम, च्यांमताङ्ग, चेपुवा, हुंगुङ्ग, हटियालगायत बस्तीका नेपाली नागरिकको दैनिक उपभोग्य सामान तथा अन्य आवश्यकताका वस्तुको आपूर्ति यही चाँगा बजारबाट हुने गर्दथ्यो । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट उत्तरी सीमा क्षेत्र किमाथाङ्कासम्म पुग्ने मोटरबाटो बनिनसकेको र कठिन भौगोलिक अवस्थिति तथा लामो दूरीका कारण नेपाली बजारबाट सामानको ढुवानी अधिकांशतः असम्भव हुने र कतिपय सामान ढुवानी गर्न सकिए पनि अत्यधिक महँगो पर्ने हुँदा चीनको चाँगा बजार भोटखोलावासीको जीवन सहजीकरण केन्द्रका रूपमा रहन पुगेको थियो। कोरोना महामारीको समयदेखि चीनले किमाथाङ्का नाकाबाट मानिसको आवतजावत वा सामानको ओसारपसार पूर्णतः निषेध गरेको हुँदा किमाथाङ्कालगायत भोटखोलावासीको दैनिक जीवनयापन कष्टकर बन्न पुगेको छ। 


वि.सं. २०७८ को हिउँदमा किमाथाङ्का तथा आसपासका बस्तीमा खाद्यान्नको अभाव भएकाले आपत्कालीन सहयोगका रूपमा गृह मन्त्रालयबाट प्राप्त १०० क्विन्टल चामल र सात क्विन्टल दाल सो स्थानसम्म ढुवानी गराउन बाटोको असहजताका कारण निकै कठिनाइ झेल्नुप-यो। भोटखोलावासी नेपाली नागरिकले यसबखत चीनको बजारमा दैनिक श्रम गरेर वा आफ्ना उत्पादन बिक्री गरेर आयआर्जन गर्ने अवसर बन्द भएको छ भने अर्कोतर्फ सामानको आपूर्ति ठप्प हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तुको अभाव हुनुका साथै समग्र भोटखोलाको आर्थिक सामाजिक अवस्था अझै तल खस्कने खतरा उत्पन्न भएको छ। दुर्गम विकट बस्तीमा खाद्यान्नको अभावमा भोकमरीको समस्या खडा हुन सक्ने आशङ्का गर्न थालिएको छ। यसबखत भोटखोला गाउँपालिकाका बासिन्दाहरू दोहोरो चपेटाको बीचमा घुमिरहेको अनिश्चयको भूमरीबाट सकुशल उद्धारको पर्खाइमा छन्। 

कठिन भूबनोट, ठाडा अग्ला डाँडा, तल खोँचमा गडगडाएर बगेको विशाल अरुण नदीमाथि रहेका अप्ठ्यारा भीर र पहिरो पार गर्नुपर्ने साँघुरा तथा उच्च जोखिमयुक्त गोरेटाको यात्रा, समथर कृषि भूमिको कमी र मौसमअनुसार अधिक वर्षा, बाढीपहिरो तथा हिमपातको कहर सहँदै अनि राज्यबाट प्राप्त हुने सेवा सुविधाको पहुँचबाट टाढा रहँदै भोटखोलाका रैथाने बासिन्दा शताब्दीऔँदेखि अत्यन्त कठिनाइका साथ जीवनयापन गर्नुुका अलावा नेपाली भूमि र प्राकृतिक स्रोतको संरक्षण, आफ्नो मौलिक सांस्कृतिक धरोहरको संरक्षण र नेपाली राष्ट्रियताको जगेर्ना गर्ने कार्यमा एकढिक्का भई लागिपरेका छन्। आजको दिनसम्म आइपुग्दा यो गाउँपालिका मानव विकास र भौतिक सुविधा उपलब्धताको दृष्टिकोणबाट निकै पछाडि छ। यहाँको आर्थिक सामाजिक अवस्था कमजोर छ। यस प्रकार विकट उत्तरी क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकको जीवनमा आइपरेको कठिनाइ हटाई उनीहरूले सहज जीवनयापन गर्न सक्ने वातावरण तयार गर्नु नेपाल सरकारको जिम्मेवारी हो। 

कोसी राजमार्गको निर्माण पूरा भई सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का यातायात सहज हुन सक्ने अवस्था सिर्जना नभएसम्म सङ्खुवासभाको उत्तरी विकट क्षेत्रका स्थानीय बासिन्दाको कठिनाइ कम गर्ने उपाय सीमित देखिन्छ । हाल खाँदबारीदेखि भोटखोला गाउँपालिकाको प्रवेशबिन्दु गोलाबजारसम्म ( करिब ८० कि.मि.) कच्ची सडकमा हिउँदको समयमा कठिनाइका साथ ट्र्याक्टरलगायतका सवारीसाधन पुग्न थालेका छन् । सो बाटोमा समेत ठाउँठाउँमा निकै अप्ठ्यारा भीर तथा पहिरो रहेका छन्। वर्षात्को समयमा बाढी र पहिरोका कारण यातायातका साधन चल्न कठिन हुन्छ। हिउँदमा यातायात पुग्न थालेको स्थान गोलबजारदेखि किमाथाङ्कासम्म पुग्न न्यूनतम दुई दिन पैदल हिँड्नुपर्छ। खाँदबारीबाट माथिल्लो विकट भेगतर्फ जाने गरी भइरहेको सडक निर्माणको कार्यले अपेक्षाकृत गति लिन सकेको छैन। 

भोटखोला क्षेत्रको विद्यमान कठिनाइलाई कम गर्दै सो क्षेत्रका बासिन्दाको जीवनयापन सहज तुल्याउन तत्काल उत्पादन वृद्धि, रोजगारी तथा आयआर्जनका उपायको खोजी गर्ने सघन कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । उच्च हिमाली भूभाग भएको र पर्याप्त खेतीयोग्य जमिन उपलब्ध नहुनुको साथै चिसो हावापानीका कारण खाद्यान्नको उत्पादन धेरै बढाउन सक्ने सम्भावना नरहेको हुँदा आय आर्जनका वैकल्पिक उपायको खोजी गर्नेतर्फ विशेष जोड दिनुपर्छ। सीमा नाकामा केही खुकुलो परिस्थिति सिर्जना गरी कमसेकम अत्यावश्यक दैनिक उपभोगका सामान नेपालतर्फ पठाउन सकिने व्यवस्थाका लागि तत्काल चीन सरकारसँग कूटनीतिक पहल गरिनु आवश्यक छ। 

भोटखोला गाउँपालिकाको मुटुबाट बग्ने अरुण नदीमा बनाइने राष्ट्रको रूपान्तरणकारी योजना माथिल्लो अरुण जलविद्युत् परियोजनाबाट भोटखोलावासीको विद्यमान अवस्थामा सुधार ल्याउनेतर्फ ठोस प्रयास अघि बढाइने अपेक्षा छ । यो परियोजना निर्माण कार्य यथाशक्य चाँडो अघि बढोस् भनी भोटखोलावासी व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। परियोजनाको सफलताको निमित्त भोटखोलावासी स्थानीय मानिसको उत्सुकता, सक्रिय सहयोग, अपनत्व र सद्भाव आवश्यक पर्छ। स्थानीयवासीको सक्रिय र सकारात्मक सहयोग प्राप्त गर्ने कुरा उनीहरूका अति आवश्यक समस्या सम्बोधन गर्ने कार्यक्रम कार्यान्वयनबाट मात्र सुनिश्चित गर्न सकिन्छ। तसर्थ यस परियोजनाले आफ्नो कार्ययोजनाअनुरूप स्थानीय मानिसले प्राप्त गर्ने लाभका कार्यक्रम कार्यान्वयनको प्रक्रिया तत्काल अघि बढाउनु आवश्यक छ।

परियोजना विकासको निमित्त सुरु भएको लगानीबाट सिर्जना हुने रोजगारी तथा अन्य अवसरसमेतमा भोटखोलावासीलाई विशेष प्राथमिकता दिनुपर्छ। समग्र भोटखोलावासीलाई यस परियोजनाबाट प्रभावित स्थानीय समुदायका रूपमा समावेश गरी परियोजनाबाट सिर्जना हुने अवसर र लाभको समानुपातिक हिस्सेदार बनाउनेतर्फ नीतिगत र कानुनी प्रबन्ध मिलाउनुपर्छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन भोटखोला गाउँपालिकामा नै निर्माणको तयारी हुँदै गरेको किमाथाङ्का अरुण जलविद्युत् परियोजना (४५० मे.वा.)को व्यावसायिक सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई समेत यसै अभियानमा जोड्न सकिन्छ। यी दुई परियोजनाको बीच समन्वय गर्ने र दुवैलाई एकै दृष्टिकोणका साथ अघि बढाउने कार्यको संयोजन ऊर्जा मन्त्रालयबाट हुनुपर्छ। 

भोटखोला क्षेत्रमा ठूला जलविद्युत् परियोजना निर्माणको निमित्त पूर्वतयारीका काम सुरु भइरहँदा केवल विद्युत् उत्पादनको कार्य नाफामूलक तुल्याउने दृटिकोणबाट मात्र होइन कि समग्र भोटखोलाका रैथाने बासिन्दाले शताब्दीऔँदेखि भोग्दै आएका अनगिन्ति दुःख र पीडाको निराकरणका साथै उनीहरूका सन्ततिको भविष्यसमेत सुरक्षित र सुन्दर बनाउने जिम्मेवारीका साथ अघि बढाउनु आवश्यक छ। माथिल्लो अरुण जलविद्युत् परियोजनाको पहुँचमार्ग निर्माण प्रक्रिया अघि बढिसकेको भए पनि परियोजनाको निर्माण सम्पन्न भएर विद्युत् उत्पादन सुरु भई राष्ट्रले लाभ लिन सक्ने अवस्था सिर्जना हुन अझै कमसेकम १० वर्ष लाग्ने अनुमान गरिएको छ।