• ७ जेठ २०८१, सोमबार

बढ्यो रावा बैङ्कको खुद मुनाफा

blog

काठमाडौँ, साउन २१ गते । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो । 

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी नौ अर्ब ६७ करोड, कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड, सञ्चालन नाफा सात अर्ब एक करोड, कुल समग्र आम्दानी तीन अर्ब आठ करोड र वितरणयोग्य मुनाफा तीन अर्ब तीन करोड रुपियाँ रहेको बैङ्कले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी २०७९ असार मसान्तमा बैङ्कको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैङ्कको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । 

२०७९ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधारदर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागतदर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४.९० रहेको छ । 

यस अवधिमा बैङ्कको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ । आव २०७८/७९ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैङ्कले खुद मुनाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तरलगायत समग्र व्यावसायिक नतिजामा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको सूचकाङ्कहरू परिपालना गर्न तथा प्रमुख परिसूचकहरूमा सुविधाजनक स्थिति कायम गरेको छ ।