निवर्तमान सभामुख तथा नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरेले मतदान गर्नु भएको छ । घिमिरेले बालकल्याण आधारभूत विद्यालय, अर्जुनधारा नगरपालिका–६ स्थित मतदान केन्द्रबाट पहिलो मतदाता बनेर मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिकले उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको धनकुटामा मतदान सुरु भएको छ । धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ बजेबाट नै मतदान सुरु भएको जानकारी दिनुभयो ।
महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ ।
नेकपा एमाले इलाम–२ का उम्मेदवारसुहाङ नेम्वाङले इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ ।
ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।
निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले आज भइहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्धक्कका साथ मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभएको छ ।
स्याङ्जामा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको स्याङ्जाका मूख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कुनै पनि मतदान केन्द्रमा समस्या आएको सूचना छैन, मतदाताले मतदान गर्न सुरु गरेका छन् ।”
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मतदाता गर्नुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका शर्माले मुसिकोट नगरपालिका –५ स्थित यमुनानन्द नमुना मावि सेरीगाउँको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान सुरु भएको छ । जिल्लाभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका ६१२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाभर शान्तपूर्वक मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का राजेन्द्रकुमार राईले मतदान गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।”
परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बिहीबार बिहान मतदान गर्नुभएको छ।