सन्तोष सुवेदी
पाख्रीबास, धनकुटा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का राजेन्द्रकुमार राईले मतदान गर्नुभएको छ। बिहीबार उहाँ पाख्रीबास नगरपालिका–७, मुगास्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्न पुग्नुभयो। उहाँको जन्मघर समेत यहीँ रहेको छ।
यस्तै, आम जनता पार्टीका उम्मेदवार प्रेमबहादुर थापाले पनि यहीँ मतदान केन्द्रमा मतदान गर्नुभयो। मतदाताहरू बिहानैदेखि उत्साहित भएर मतदान स्थलमा उपस्थित भएका थिए। पाख्रीबास–७ स्थित मुगाकी ७८ वर्षीया कुमारी देवले पनि बिहानै मतदान गर्नुभयो।
धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। धनकुटामा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्। तीमध्ये ५० हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ जना महिला मतदाता रहेका छन्। धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन्। सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो।