महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक मत परिणाम अनुसार एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजय हुनुभएको छ । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उहाँ विजयी हुनुभएको हो ।
काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
सरकारले उखु कृषकलाई प्रति क्विन्टल ७० रुपियाँ अनुदान रकम दिने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उहाँले ३५३ मत प्राप्त गरी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ।
रौतहटको इशनाथ नगरपालिका वडा ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको अन्तरले विजयी हुनुभएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका वडा १को वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठ एक हजार १८४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
झापाको कन्काई नगरपालिका –६ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार ओलीले ४ सय ९३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा २ को अध्यक्षमा एमालेका सकवुल खान विजयी हुनुभएको छ । उहाँले ६३१ मतका साथ विजयी हुनुभएको हो ।
गोरखा नगरपालिका –५ को वडा अध्यक्षमा नेकपा (माओबादी केन्द्र) का बिष्णु राना मगर निर्बाचित हुनु भएको छ ।