• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेश हुँदै

blog

काठमाडौं, असार १३ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।

बिहान ११ बजे बोलाइएको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०–०८१ का प्रस्तुत गर्नुभएको बजेट पारितका लागि प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहहरुको जवाफ दिनुहुने छ ।

त्यसपछि अर्थ मन्त्री महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उहाँले  “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता सत्तारुढ दलहरूले आर्थिक वर्ष २०८०–०८१ को बजेटको पक्षमा मतदान गर्न आआफ्ना सांंसदहरुलाई ह्विप जारी गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका सत्तारुढ दलहरूले विनियोजन विधेयक निर्माणार्थ प्रस्तुत हुने दिने अनिवार्य उपस्थित हुने, पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप लगाएका छन् ।