राधा लुइँटेल
फिदिम, वैशाख १४ गते । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिलो पटक भेट हुँदा एकआपसमा सिलाम साक्मा आदानप्रदान गरेर आत्मीयता साट्नुभयो ।
एक वर्षअघि जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका पुग्नुभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिलाम साक्मा लगाएर खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो । ओली अहिले पनि प्रायः सिलाम साक्मा लगाएरै सार्वजनिक समारोहमा देखिनुहुन्छ ।
नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले पछिल्लो समय आफ्ना औपचारिक कार्यक्रममा अतिथिलाई रिबनको ब्याच र खादाको साटो सिलाम साक्मा लगाइदिन थालेको छ । भाषाविद् हरिचन्द्र लावतीले आफ्नो घरको बरन्डामा सिलाम साक्माकै प्रतिमा बनाउनुभएको छ । कमेडी च्याम्पियनका भरतमणि पौडेल प्रायः सार्वजनिक कार्यक्रममा सिलाम साक्मा लगाएर देखा पर्नुहुन्छ ।
गायक प्रमोद खरेलदेखि महानायक राजेश हमाल पनि सिलाम साक्मामा सजिएर विभिन्न समारोहमा ठाँटिएका तस्बिर बेलाबखत सार्वजनिक भइरहन्छन् । कतिपय भारतीय रियालिटी सोमा पनि सिलाम साक्मा प्रयोग भएको देख्न पाइन्छ ।
केही समयअघिसम्म लिम्बू समुदायले मात्रै प्रयोग गर्ने सिलाम साक्मा पछिल्लो समय गैरलिम्बूहरूले प्रयोग गर्न थालेका छन् । पाँचथरको फाल्गुनन्द–३, बत्तीसे मोरङको मधुमल्लामा स्थानीयकै अगुवाइमा सिलाम साक्माको प्रतिमा बनाइएको छ भने मिक्लाजुङमा निर्माणाधीन अवस्थामा छ । किराँत याक्थुङ चुम्लुङले आफ्नो झन्डामा सिलाम साक्मा नै अङ्कित गरेको छ ।
किराँत याक्थुङ चुम्लुङले काठमाडौँसँगै किराँत लिम्बूको बसोबास रहेका देश विदेशमा आयोजना गर्ने कार्यव्रmममा सिलाम साक्मा लगाएरै स्वागत र सम्मान गर्ने परम्परा बनेको छ । योसँगै नेपालका हरेकजसो सामाजिक, साहित्यिक र राजनीतिक कार्यक्रममा रिबन निर्मित ब्याचको साटो सिलाम साक्माकै प्रयोग बढेको छ । यसको प्रयोग कोशी प्रदेशमा धेरै हुन्छ ।
बढ्दो बजार
मोरङको मधुमल्लाकी सेमिमा तुम्बाहाम्फेले व्यावसायिक रूपमा सिलाम साक्मा बनाउन थालेको १० वर्ष भयो । पहिले किराँत लिम्बू जातिले धार्मिक अनुष्ठान र सांंस्कृतिक कार्यक्रममा मात्रै प्रयोग गर्थे । नेपालका विभिन्न स्थानमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्रयोग हुन विदेशबाट पनि यसको माग हुने गरेको तुम्बाहाम्फे बताउनुहुन्छ ।
उहाँले बुनेको सामग्री काठमाडौँको नक्खिपोटस्थित आफ्नै पसलमा पु-याएर हङकङ, सिङ्गापुर, कोरिया र जापानसम्म निर्यात गरिन्छ । उहाँ भन्नुहुन्छ, “पहिले मुन्धुमी रूपमा प्रयोग हुने सिलाम साक्मा अहिले फेसनका रूपमा पनि प्रयोग हुन थाल्यो । यसको मुन्धुमी महत्वको चर्चा चुलिएसँगै देश विदेशमा माग बढ्दो छ ।”
उहाँका अनुसार सिलाम साक्मा घुङरिङको काठ र धागोबाट तयार पारिन्छ । निपुण व्यक्तिले कलात्मक बुट्टा भरेर एक दिनमा २५ वटासम्म तयार गर्न सक्छन् । सिलाम साक्मा बायाँ छातीमा लगाइन्छ । आकर्षक ढङ्गले बुनिने यो सामग्री ब्याचका रूपमा प्रयोग हुन थालेको धेरै भएको छैन । कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी र तेह्रथुममा यसको प्रयोग धेरै हुन्छ ।
सामान्य बुट्टा भरेर तयार पारिएको सानो साइजलाई प्रतिगोटा ६० देखि धेरै मेहनत र बुट्टा भरेर कलात्मक रूप दिइएका सिलाम साक्मा प्रतिगोटा पाँच सय रुपियाँसम्ममा बिक्री हुने आङदेम्बे बताउनुहुन्छ ।
लिम्बू बाहुल्य रहेको कोशी प्रदेशका पाँचथर ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी र धनकुटामा सिलाम साक्मा बनाउने १० जना महिला छन् । व्यावसायिक रूपमा सिलाम साक्मा बनाउने उनीहरू प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपियाँ आम्दानी हुने बताउँछन् । यो लगाएपछि मृत्यु छेकिने, महामारीबाट जोगिने विश्वास छ ।