धनगढी समाचारदाता
धनगढी, असार १२ गते । कैलाली जिल्लाका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्रै १३ वटै पालिकाले आफ्नो नगर/गाउँ सभामा बजेट प्रस्तुत गरिसकेका छन् । सबै स्थानीय तहको कुल बजेट १३ अर्ब २६ करोड १४ लाख २१ हजार रुपियाँ बराबरको रहेको छ । जिल्लामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोड ५६ लाख रुपियाँको बजेट ल्याएको छ भने सबैभन्दा कम चुरे गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार रुपियाँको बजेट ल्याएको छ ।
यस्तै गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड ४५ लाख रुपियाँ बराबरको रहेको छ । कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख रुपियाँ रहेको छ । जोशीपुर गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । यस्तै गुलाब नगरका रूपमा अगाडि बढिरहेको टीकापुर नगरपालिकाले ९३ करोड ३७ लाख रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ । यसमा सामाजिक सुरक्षा भत्ता र सामाजिक सङ्घ संस्थाको बजेट नजोडेको नगरप्रमुख रामलाल डङ्गौरा थारूले बताउनुभयो ।
जानकी गाउँपालिकाको बजेट ९१ करोड ३७ लाख रुपियाँ रहेको छ । यसै गरी लम्कीचुहा नगरपालिकाको बजेट एक अर्ब २० करोड ९९ लाख रुपियाँ रहेको छ । यी दुइटै पालिकाले जिल्लामै सबैभन्दा अगाडि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । बर्दगोरिया गाउँपालिकाले एक अर्ब दुई करोड ९१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । गौरीगङ्गा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख, घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड ४० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यसै गरी भजनी नगरपालिकाले ६८ करोड ७३ लाख ६५ हजार रुपियाँ र मोहन्याल गाउँपालिकाले ६१ करोड ५० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । पर्याप्त स्रोत नरहेकाले कतिपय गाउँपालिकाको भन्दा पनि कम बजेट ल्याएको भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले बताउनुभयो । स्थानीय तहले सभामा प्रस्तुत गरेको बजेट असार मसान्तभित्रै सभाबाट पारित भइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
पालिकाको बजेट आठ अर्ब १२ करोड
कञ्चनपुर समाचारदाताका अनुसार कञ्चनपुरका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । निर्धारित समयमै बजेट ल्याएका यहाँका पालिकाले आगामी आवका लागि आठ अर्ब १२ करोड २३ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । बेलौरी नगरपालिकाले आगामी आवका लागि ७६ करोड ६२ लाख ८० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बेलौरी नगरपालिकाको आयस्रोतमा आन्तरिक आय पाँच करोड ५६ लाख ६८ हजार, राजस्व बाँडफाँट रकम १२ करोड १४ लाख ३० हजार रहेको छ ।
भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ रुपियाँ रहेको छ । सो नगरपालिकाले आगामी आवदेखि लागु हुने गरी छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम ल्याएको छ । आर्थिक अभावले कोही पनि छोरीबुहारी उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख पदम बोगटीले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ३० लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ६५ लाख २१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिकाले आगामी आवका लागि ९२ करोड ७८ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । यस्तै पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख १८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरको दीगो विकाससँग जोडेर बजेट ल्याइएको नगरप्रमुख तोयप्रसाद शर्माले बताउनुभयो । बेलडाँडी गाउँपालिकाले ५४ करोड ५० लाख ४४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । यस्तै लालझाडी गाउँपालिकाले आगामी आवका लागि ४३ करोड ६५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
मेलौली नगरपालिकाले ल्याएन बजेट
बासुलिङ समाचारदाताका अनुसार बैतडी जिल्लामा रहेका १० वटा स्थानीय तहमध्ये मेलौली नगरपालिकाबाहेक अन्य नौ पालिकाले बजेट सार्वजनिक गरेका छन् । मेलौली नगरपालिकाले भने बजेट तोकिएको अगाडि नै वैशाखमै नीति तथा कार्यक्रम र बजेट प्रस्ताव ल्याए पनि पारित गर्न सकेको छैन । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दका अनुसार चालु आर्थिक वर्षका लागि करिब ५८ करोड ३७ लाख ९७ हजार रुपियाँ बराबरको बजेट तयारी गरेको र आगामी असार १८ गते नगर सभाबाट पारित गरिने तयारी गरिएको छ । उहाँले आन्तरिक समन्वय नपुगेकाले बजेट पारित हुन ढिलाइ भएको बताउनुभयो ।
यस क्रममा निर्धारित समयमै दशरथचन्द नगरपालिकाले ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपियाँ, पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजार रुपियाँले, डिलासैनी गाउँपालिकाले ६५ करोड २३ लाख ८५ हजार रुपियाँको, पुर्चौडी नगरपालिकाले ६४ करोड १२ लाख रुपियाँ, सिगास गाउँपालिकाले ५५ करोड ९० लाख ७४ हजार १०९ रुपियाँको, दोगडाकेदार गाउँपालिकाले ५२ करोड ६८ लाख ७४ हजार ६६४ रुपियाँको, सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार ५७ रुपियाँको, पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार ३३२ रुयियाँको र शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार ४४५ रुपियाँको बजेट ल्याएको छ ।
तीन अर्ब ८९ करोड १२ लाख
अमरगढी समाचारदाताका अनुसार डडेलधुराका सात वटा पालिकाले तीन अर्ब ८९ करोड १२ लाख बढीको बजेट ल्याएका छन् । यहाँका सात वटै पालिकाले नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी बजेट भित्रिमधेशको परशुराम नगरपालिकाले ८० करोड ४९ लाख ४१ हजार ४३५ रुपियाँको बजेट ल्याएको छ ।
परशुरामले दायित्व, चालु र पुँजिगत खर्च, राजस्वको आधारमा, प्रदेश समपूरक र सङ्घीय बजेटलाई टेकेर नगरपालिकाको आन्तरिक आयलाई अनुमान गरी बजेट सार्वजनिक गरेको नगरप्रमुख भरत बडायर जोशीले बताउनुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँले बताउनुभयो ।
यसै गरी अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ । अमरगढीले आन्तरिक आय एक करोड ६० लाख रकम अनुमान गरेको छ ।
आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ । प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रकम चालु खर्चका लागि छुट्याएको छ भने २२ करोड छ लाख ७० हजार रुपियाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । अजयमेरु गाउँपालिकाले ५३ करोड दुई लाख ३८ हजार रुपियाँको बजेट ल्याएको छ । गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार ७३८ को रुपियाँको बजेट ल्याएको छ । भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख बजेट ल्याएको छ । नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
शिक्षा र सडकलाई प्राथमिक
बाजुरा समाचारदाताका अनुसार बाजुराका नौ वटै स्थानीय तहले यो वर्षको बजेट ल्याएका छन् । बाजुराका स्थानीय तहले बजेटमा रोजगार, कृषि, स्वास्थ्य, शिक्षा, सडक र खानेपानीलगायतका भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् । जस अनुसार हिमाली गाउँपालिकाले ३९ करोड २७ लाख २७ हजार र स्वामीकार्तिक खापर गाउँपालिकाले ३८ करोड तीन लाख ६७ हजार ६६१ रुपियाँको बजेट ल्याएको छ । यस्तै गरेर जगन्नाथ गाउँपालिकाले ३१ करोड ७७ लाख, बुढीनन्दा नगरपालिकाले ४८ करोड एक लाख बडीमालिका नगरपालिकाले ५१ करोड ८२ लाख १८ हजार तीन सय रुपियाँको बजेट ल्याएको छ ।
त्यसै गरी गौमूल गाउँपालिकाको ३९ करोड ८५ लाख ६२ हजार, बुढीगङ्गा नगरपालिकाले ५३ करोड ९० लाख ८३ हजार ५९३, त्रिवेणी नगरपालिकाले ४८ करोड ४६ लाख ८१ हजार र खप्तड छेडेदह गाउँपालिकाले ५० करोड आठ लाख ४६ हजार रुपियाँको बजेट ल्याएको छ ।