• १२ असार २०८२, बिहिबार

बाढी पीडितले पाए अस्थायी निजी आवास बनाउन अनुदान

blog

गत वर्ष सुनकोसी नदीमा आएको बाढीबाट क्षतीग्रस्त गोलन्जार गाँउपालिका–७ स्थित खुर्कोट बसपार्क क्षेत्रको बजार । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असार १२ गते । सिन्धुली जिल्लामा गतवर्षको बाढी पहिरोबाट प्रभावित चार सय ६६ घर परिवारले अस्थायी निजी आवास निर्माणका लागि अनुदान पाउने भएका छन् ।

गतवर्ष असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित जिल्लाका चार गाउँपालिकाका चार सय ६६ घर परिवारलाई निजी अस्थायी निर्माणका लागि पहिलो किस्ता वापत २५ हजार रुपियाँका दरले रकम निकासा भएको हो । सङ्कटग्रस्त घोषणा भएका पालिकाबाट अस्थायी आवास निर्माणको माग रकम र लाभग्राहीको विवरणका आधारमा रकम निकासा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बाढीपहिरो गएको झण्डै ९ महिनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिदिएको हो । चार सय ६६ घर परिवारका लागि एक करोड १६ लाख ५० हजार रुपियाँ निकासा भएको छ । बाढी पहिरोमा परी पूर्णरूपमा क्षति भएका घर परिवारलाई निजी अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको हो ।

गतवर्षको बाढी पहिरोबाट सुनकोशी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको थियो । सुनकोशी गाउँपालिकामा तीन सय ६७ परिवारलाई ९१ लाख ७५ हजार, गोलन्जोर गाउँपालिकामा ८३ परिवारलाई २० लाख ७५ हजार रुपियाँ, फिक्कल गाउँपालिकामा नौ परिवारलाई दुई लाख २५ हजार रुपियाँ र हरिहरपुरगढी गाउँपालिकामा सात परिवारलाई एक लाख ७५ हजार रुपियाँ निकासा भएको सहयाक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो किस्ताको रकम बल्ल आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरी त्यो रकम चार वटै पालिकामा पठाइसक्यौँ । पहिलो किस्ताको रकमबाट बन्नुपर्ने संरचना बनेपछि अनुगमन गरी बाँकी दोस्रो किस्ता रकम उपलब्ध गराइनेछ ।’ 

गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले निजी अस्थायी आवास निर्माणको रकम पालिकालाई उपलब्ध भएको र सूचीकृत भएका बाढीपहिरो पीडित परिवारलाई पठाउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "अहिले उनीहरुको बैङ्क खाता रुजु(भेरिफिकेसन) गर्ने काम भइरहेको छ । त्यो कार्य सकिने बित्तिकै रकम खातामा पठाइदिन्छौँ ।" 

निजी अस्थायी आवास निर्माणका लागि एक परिवारले ५० हजार रुपियाँ पाउने र छानो हालेपछि अनुगमन गरी दोस्रो तथा अन्तिम किस्ता २५ हजार रुपियाँ उपलब्ध गराइने उहाँले बताउनुभयो । जिल्लामा गतवर्ष अविरल वर्षापछि सुनकोशी नदीमा आएको बाढीबाट सुनकोशी, गोलन्जोर र फिक्कल तथा बागमती नदीमा आएको बाढीबाट हरिहरपुरगढी गाउँपालिका प्रभावित भएको थियो ।

यो वर्षको मनसुन सुरु भइसकेकाले नदी तथा खोलानालाका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।