• १२ असार २०८२, बिहिबार

‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

blog

फाइल तस्बिर ।

काठमाडौँ, असार १२ गते । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई-मधेशमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो ।

काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुने छ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ । 

काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुनुहुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिनुभयो ।      

कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिने छन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दसहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिनुभयो ।

यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उहाँले बताउनुभयो । 

तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुने छ । यी तीन वटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन् । रासस