• १२ असार २०८२, बिहिबार

शुक्लाफाँटामा कृष्णसारकाे सङ्ख्या तीन सय छ पुग्याे

blog

शुक्लाफाँटास्थित हिरापुर मैदानमा कृष्णसार ।

अविनाश चौधरी

धनगढी, असार १२ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्या तिन सय छ पुगेको छ । 

स्थानान्तरण गरी ल्याइएको १३ वर्षमा यहाँ सात गुणाले कृष्णसारको सङ्ख्या बढेको हो । सन् २०१२ मा विभिन्न स्थानबाट ल्याएर ४२ वटा कृष्णसार निकुञ्जको हिरापुरमा मैदानमा छोडिएको थियो । 

हाल वयस्क भाले कृष्णसार ९३, अर्धवयस्क भाले २४, वयस्क पोथी १०० र अर्धवयस्क पोथी ४४ वटा रहेका छन् । त्यसैगरी एक वर्षका बच्चा ४५ वटा रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । 

१९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखापरेको स्थानीयका भनाइलाई आधार मानेर यहाँ कृष्णसार बाँच्न सक्ने निष्कर्ष निकालिएको थियो । त्यसपछि सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार हिरापुरमा ल्याएर छाडिएको थियो। २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । 

निकुञ्जको हीरापुर मैदानमा बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रभन्दा बढी कृष्णसार भएका छन् । हिरापुर फाँटमा ५८.८ हेक्टर क्षेत्रफल तारबार गरी कृष्णसारको बासस्थान विस्तार गरिएको छ । सुरुवातमा ७.५ हेक्टर क्षेत्रमा कृष्णसारको बासस्थान बनाइएको थियो । सङ्ख्या बढे अनुसार बासस्थान पनि विस्तार गरिएको छ । यद्यपि, सङ्ख्या थप बढेकाले विस्तार गरिएको बासस्थानमा पनि व्यवस्थापन गर्न अलिकति समस्या हुन थालेको छ । 

केही कृष्णसारलाई निकुञ्जको कोर एरियास्थित प्राकृतिक बासस्थानमा छोड्ने बारे छलफल चलिरहेको छ । यसैगरी, पर्यटनलाई मध्यनजगर गरेर व्यवस्थापनका लागि पालिकाले पनि प्रस्ताव गरेको वाग्लेले बताउनुभयो । “चितवनको राप्ती नगरपालिकाले आफ्नो पालिकामा व्यवस्थापनका लागि प्रस्ताव गरेको छ”, उहाँले भन्नुभयो, “त्यसको लागि विभागमा फाइल पठाइएको छ ।”

विभागले निर्णय गरे अनुसार केही कृष्णसारलाई अन्यत्र व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने सूचना अधिकारी वाग्लेको भनाइ छ । 

नेपालमा सन् १९७० को दशकतिर कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो । १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो । १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, १९८५ देखि १९८८ सम्म थप चार र १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिए पनि त्यहाँ एउटा पनि नबाँचेको बताइन्छ । 

सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर त्यहाँ संरक्षणको कार्य अगाडि बढाइएको छ ।