बैतडी समाचारदाता
बैतडी, असार १२ गते । सङ्घीय अनुदान कोटा आउने भन्दै उधारोमा भर्ना गरिएका दुई जना विज्ञान विषयका शिक्षक विस्थापित हुने सम्भावना बढेको छ । मेलौली नगरपालिकाले गत फागुनमा छ जना विज्ञान शिक्षकको कोटामा आठ जना विज्ञान शिक्षक भर्ना गरेको थियो । सङ्घीय अनुदान कोटा आइहाल्छ भन्दै उधारोमा भर्ना गरिएका शिक्षकको यो वर्ष अनुदान कोटा प्राप्त नभएपछि विस्तापित हुने देखिएको छ ।
नगरपालिकाले २०८१ फागुनमा सङ्घीय सरकारबाट छ जना विज्ञान विषयका शिक्षकको अनुदान कोटामा आठ जना विज्ञान (बिएस्सी) शिक्षक भर्ना गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ मा थप कोटा आउने आशामा विज्ञान शिक्षक भर्ना गरिए पनि यो वर्ष कोटा नआएकाले मेलौली नगरपालिका–९, स्थित विशालपुर मावि र ५ नम्बर वडामा रहेको दुर्गा मावि खलिगाडका विज्ञान विषय पढाउने शिक्षक विस्थापित हुने शिक्षा शाखा प्रमुख मुनु क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “छ जना शिक्षकको कोटामा आठ जना भर्ना नगरौँ भन्दाभन्दै कार्यपालिका बैठकमा कसैले मानेनन् । फागुनमा भर्ना गरिएकाले छ जना बराबरको साउनदेखिको तलब बचेको थियो । थप दुई जनालाई असारसम्म तलब पुग्छ भनियो । यो वर्ष अनुदान कोटा आएन । अब साउनदेखि कहाँबाट तलब खुवाउने ?” मेलौली नगरपालिकाले गएको फागुनमा शीतलपुर मावि, दुर्गा मावि, जगदम्बा मावि, भरतपुर मावि, विशालपुर मावि, कमलपुर मावि, प्रीतिपुर मावि र सुदर्शन मावि गरी आठ वटा माविमा विज्ञान विषयका शिक्षक भर्ना गरेको थियो । कार्यपालिकाको सुरुको बैठकले प्रीतिपुर मावि र सुदर्शन माविबाहेकका छ वटा माविमा कोटा अनुसार विज्ञान शिक्षक भर्ना गर्ने निर्णय भएको शिक्षा समिति सदस्य एवं मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।
नगरप्रमुखले विवाद मिलाउन अर्को वर्ष कोटा आइहाल्छ भन्दै थप दुई वटा विद्यालयमा शिक्षक भर्ना गर्ने एकल निर्णय गरेको उहाँले बताउनुभयो । यो विषयमा नगरप्रमुख भीमबहादुर चन्दले कुनै प्रतिक्रिया दिनुभएन ।
विस्थापित हुने भनिएका विशालपुर मावि र दुर्गा माविका प्रधानाध्यापक र शिक्षकले विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक विस्थापित गर्न नहुने माग गरेका छन् । विशालपुर माविका प्रधानाध्यापक खड्कसिंह विष्टले उधारोमै भए पनि पहिलो पटक बिएस्सी शिक्षक पाएकाले शिक्षकको जिम्मेवारी नगरपालिकाले बेहोर्नुपर्ने बताउनुभयो ।