• ११ असार २०८२, बुधबार

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले टेलिमेडिसिन सेवा सुरू गर्ने

blog

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको भवन । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), असार ११ गते ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले तत्कालै उपचारका लागि स्वास्थ्यकर्मी खटाउने तथा एम्बुलेन्समार्फत सेवा दिने गरी हाइ अल्टिच्युड उपचार कक्ष बनाउने भएको छ ।

वर्षेनी प्रसिद्ध धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तिर्थयात्री र पर्यटक लेक लागेर बिरामी हुन थालेपछि गाउँपालिकाले सो कक्ष बनाउने निर्णय गरेको हो ।

कागबेनीमा स्नान गरी प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटक बढेसँगै लेक लागेर तिर्थयात्रीलाई समस्यामा पर्न थालेपछि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपचार कक्षमा आवश्यक स्वास्थ्यकर्मी सहित उपकरणका लागि ५ लाख ५० हजार रुपिँया विनियोजन गरेको छ ।

गाउँपालिकाको सक्रियता तथा मुक्तिनाथ विकास समितिमार्फत एम्बुलेन्स खरिद गरी जटिल बिरामीलाई थप उपचारका लागि पठाउने प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । बिरामी पर्यटक तथा तिर्थयात्रीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पु¥याउन तथा थप उपचारका लागि समेत जिल्ला बाहिर लैजान एम्बुलेन्सको आवश्यकता रहेकाले गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत सर्वसम्मतिले पारित गरेको छ । कागबेनीमा स्वर्गीय आफन्तको सम्झनामा कागबेनीमा तर्पण दिने र मनोकाङ्क्षा पूरा गर्ने जनविश्वासमा मुक्तिनाथमा दर्शन बर्षनी लाखौं नेपाली तथा भारतीयसहित तेस्रो मुलुकबाट तिर्थालु आउने गरेका छन् ।

गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले सचेतनामुलक अभियानसँगै पर्यटकको स्वास्थ्यमा देखिएको समस्यालाई मध्यनजर गरी मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रमा जनशक्ति र उपकरणको अभावका बारेमा समेत सङ्घीय र प्रदेश सरकारको ध्यानार्कषण गराइएको बताउनुभयो । यसैबिच गाउँपालिको प्रख्यात अस्पतालसँग सहकार्य गर्ने गरी टेलिमेडिसिन सेवा समेत सञ्चालन गर्ने भएको छ । मुस्ताङमा लेक लागेर ज्यान गुमाउनेमा धार्मिक तिर्थयात्रीको सङख्या धेरै छन् । दुई वर्षमा मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।