देश निर्माणमा युवापुस्ताको महत्वपूर्ण भूमिका रहने गर्दछ तर यिनै युवाले गलत बाटो रोजे भने के होला ? युवाले गलत बाटो रोजे भने युवाको भविष्य मात्र नभई, राज्यलाई नै गम्भीर असर पर्छ । केही युवाले छोटो समयमै सफलता चुमेका उदाहरण समाजमा नभएका होइनन् तर धेरै जसो युवापुस्ता भने लागुऔषधको दुव्र्यसनीमा फसेर आफ्नो जीवन बर्बादीमा पारेका छन् ।
अहिले युवा दुव्र्यसनीले विश्वलाई नै आक्रान्त बनाउँदै लगेको छ । विकसित र विकासोन्मुख देशमा समेत यो समस्या बनिरहेका बेला नेपाल पनि यो समस्याबाट अछुतो छैन् । लागुऔषध भन्नाले विभिन्न रसायनबाट बनेको औषधी भनेर बुझ्न सकिन्छ । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भन्ने गरिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउने कार्य गर्छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ३ ले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगी अफिम कोकाको झारपात र अफिम तथा कोकाको सारतìव मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थ भनी उल्लेख गरेको छ । नेपालमा लागुपदार्थ प्रयोगको सुरुवात ६० दशकको अन्त्य र ७० दशकको सुरुदेखि भएको पाइन्छ । नेपाली भूमिका प्रवेश गरेका विदेशी नागरिकहरूको नक्कल गर्ने परम्पराबाट सुरु भएको लागुपदार्थ प्रयोगको सुरुवात भएको इतिहास पाइन्छ । नेपाली युवा विदेशी पर्यटकको व्यवहारदेखि नजिक रहन थाले र उनीहरूको व्यवहारको सिको गर्न थाले, जसका कारण उनीहरूमा लागुपदार्थ दुव्र्यसनीको लत बढ्नै गएको पाइन्छ ।
संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध हेर्ने कार्यालय युएनओडिसीको सन् २०२३ को रिपोर्ट अनुसार अफ्रिकामा मात्र लागुपदार्थको प्रयोगबाट उपचाररत रहेका ७० प्रतिशत व्यक्ति ३५ वर्षभन्दा कम उमेरका रहेका छन् । रिपोर्ट अनुसार विश्वमा २९ करोड छ लाख लागुऔषध प्रयोगकर्ता रहेका छन् । युएनओडिसीको सन् २०११ को रिपोर्ट अनुसार विश्वमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या २४ करोड थियो । पछिल्लो ११ वर्षमा विश्वमा पाँच करोड छ लाख लागुऔषध प्रयोगकर्ता वृद्वि भएको विभिन्न तथ्याङ्कले देखाएका छन् । नेपालमा लागुऔषध प्रयोगकर्तासम्बन्धी सर्वेक्षण, २०७६ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको पाइन्छ । त्यसअघि २०६९ मा प्रयोगकर्ताको सङ्ख्या एक लाख २१ हजार ६९२ रहेको थियो भने २०६३ मा भएको सर्वेक्षणमा जम्मा ४६ हजार ३०९ जना मात्र प्रयोगकर्ता रहेका थिए । सर्वेक्षण प्रतिवेदन अनुसार लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.६ प्रतिशत रहेको देखिन्छ । २०७६ यता प्रयोगकर्ताका बारेमा सर्वेक्षण भएको पाइँदैन ।
लागुऔषधको प्रयोगमा सबैभन्दा बढी जोखिममा युवापुस्ता रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । लागुऔषधको प्रयोगकर्ता बढ्नुले अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको गृह मन्त्रालयले बताउँदै आएको छ । लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या सबैभन्दा बढी प्रभावित भएको मन्त्रालयको तथ्याङ्कमा भेटिन्छन् । राष्ट्रको भविष्यसँग जोडिएका युवापुस्ता नै कुलतमा फसेपछि देशको आर्थिक, सामाजिक संरचनामा नकारात्मक असर गर्ने हुँदा युवा दुव्र्यसनी हरेक देशका लागि चिन्ताको विषय बनेको छ । लागुऔषध दुव्र्यसनीका मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या पनि प्रत्येक वर्ष बढिरहेको पाइन्छ ।
युवा विभिन्न कारणले दुव्र्यसनीको सिकार बन्ने गरेका छन् । नेपाली समाजमा युवा दुव्र्यसनीको सिकार हुनुमा विविध पारिवारिक समस्या, बेरोजगारीको समस्या, सामाजिक, सांस्कृतिक र धार्मिक, साथी सङ्गत र मनोरञ्जन प्रदान गर्ने नाममा दुव्र्यसनीको सिकार बन्ने गरेको पाइन्छ । यस्तै काम विशेषमा उत्सुकता भएर, दुःखी भएको समयमा खुसी हुन, विभिन्न मानसिक समस्याबाट मुक्ति पाउन, अध्ययनमा सफलता नमिलेमा, घरेलु हिंसा तथा दुव्र्यवहारको कारण, डिप्रेसन र यौन शक्ति वृद्धि गर्नका लागि पनि युवा दुव्र्यसनीको लतमा फस्ने गरेका छन् ।
राष्ट्रलाई समृद्व र विकासको बाटोमा लैजानको लागि त्यो देशका युवाशक्ति शारीरिक र मानसिक रूपमा स्वस्थ, बलिया र क्षमतावान् हुनु अति आवश्यक छ । तर हाम्रो जस्तो विकासोन्मुख देशका युवा पङ्क्ति नै लागुपदार्थ दुव्र्यसनीमा लागेर कमजोर हुँदै जानु अवश्य पनि चिन्ताको विषय हो । दुव्र्यसनीले स्वास्थ्यमा असर पर्दै जाने र विभिन्न खाले रोग (जस्तै हेपाटाइटिस बी र सी, एचआइभी र एड्स, टिबी आदि) सङ्क्रमणको जोखिम बढ्छ । अर्कोतर्फ दुव्र्यसनीमा फसेका युवा परिवारबाट टाढा बस्न रुचाउने, एक्लै बस्ने, झोक्किने र आर्थिक हिसाबले पनि परिवारमा गम्भीर सङ्कट उत्पन्न गराउँछ । लागुपदार्थ दुव्र्यसनीले व्यक्तिको प्रतिरक्षा प्रणाली क्षतिग्रस्त गर्नुका साथसाथै उसमा पेटको समस्या निम्त्याउने, कलेजोमा अवरोध हुने, हृदयघात हुने र मस्तिष्कमा असर पुर्याउने जस्ता जटिल समस्या उत्पन्न गराउँछ । यसले समाजबाट तिरस्कृत हुने, झैझगडा परी कानुनी कारबाहीमा पर्ने, युवाको अध्ययनमा प्रभावित गर्ने, कार्यक्षमतामा असर पर्नुका साथसाथै दुव्र्यसनीले कुनै पनि व्यक्तिको आर्थिक स्थितिमा समेत नकारात्मक असर पारेको हुन्छ । हरेक हिसाबले सिर्जनात्मक कार्यमा डटेर लाग्नुपर्ने युवापुस्ता नै दुव्र्यसनीको लतमा परेपछि सिङ्गो देशलाई नै असर पर्न जान्छ । दुव्र्यसनीमा फसेपछि लत छुटाउनै गाह्रो हुने चोरी, डकैती र अपराधका घटनासमेत बढ्ने र दुव्र्यसनीमा फसिसकेकालाई रोकथामका लागि लाग्ने खर्चले समेत परिवारलाई थप तनाव उत्पन्न गराउने गर्दछ ।
लागुऔषध नियन्त्रण ऐन अन्तर्गत निषेध गरिएका कार्य गर्नेलाई अपराधको मात्रा र कसुर अनुसार कम्तीमा दुई हजारदेखि बढीमा २५ लाखसम्म जरिबाना र एक महिनादेखि १५ वर्षसम्म कैदको सजाय तोकिएको छ । यस्तै दुव्र्यसन गर्ने व्यक्तिलाई चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी कुनै व्यक्ति वा संस्थाले कागज गरी जिम्मा लिएमा त्यस्तो चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी १५/१५ दिनमा पेस गर्ने गरी मुद्दा हेर्ने व्यक्तिले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्ने छ । यसै गरी ऐनको विभिन्न दफामा सम्पत्ति जफत हुने, बारम्बार अपराध गर्नेलाई थप सजाय, मतियार हुनेलाई सजाय, सम्पत्ति जफत हुने, सजाय छुट हुनेलगायतको समेत व्यवस्था गरिएको छ ।
नेपालमा अहिले पनि विद्यमान रहेको लागुऔषध (नियन्त्रण) ऐन, २०३३ लाई आधार मानेर संशोधन हुँदै आएको छ । यस ऐनमा लागुऔषधका बारेमा सम्पूर्ण व्याख्या, विश्लेषणसहित सजाय उल्लेख गरिएको छ । यसबाहेक लागुऔषध नियन्त्रणका लागि समय–समयमा विभिन्न नीति, रणनीति, निर्देशिका कार्यान्वयनमा ल्याइने गरिएको पाइन्छ । राज्यका तर्फबाट लागुऔषध नियन्त्रण तथा रोकथामका लागि प्रयास नभएका भने होइनन् तर देश सङ्घीयतामा गइसकेपछि तीन तहको सरकारको समन्वयको अभावमा पनि कतिपय कार्य अधुरै रहेका छन् । कतिपय नीति तथा निर्देशन बने पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसक्दा लागुऔषधमा युवापुस्ताको जोखिम बढ्दै गएको पाइन्छ ।
नेपालमा लागुऔषध दुव्र्यसनीको लतमा न्यूनीकरण र रोकथामका लागि सरकारका तिनै तहका सरकार समन्वयात्मक भूमिकाबाट जनचेतना फैलाउनुपर्ने देखिन्छ । यस्तै परिवारले आफ्ना सन्तानको हेरचाहमा चनाखो हुने र उनीहरूको क्रियाकलापलाई दृष्टिगत गरी आवश्यक राय, सल्लाह दिनुका साथै विद्यालय तहका पाठ्यक्रम र सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने अपरिहार्य छ । लागुपदार्थ दुरुपयोगको हानिकारक प्रभावको बारेमा जागरुकता पैदा गर्ने प्रयास, लागुऔषधमा निर्भर व्यक्तिलाई सामाजिक तथा आर्थिक एकीकरण गर्न सिपमूलक र व्यावसायिक तालिम प्रदान गर्ने र दुव्र्यसनीमा फसेका युवालाई लागुऔषध मुक्त, अपराध मुक्त तथा रोजगारयुक्त बनाउने नीति ल्याएर समाजप्रति उत्तरदायी बनाउन सकेमा युवालाई दुव्र्यसनीको लतबाट निकाल्न सकिन्छ । नेपाल सरकारका सुरक्षा निकाय र सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । सीमानाकामा चेकजाँच प्रभावकारी रूपमा बढाउनु पर्छ देखिन्छ ।