कोकिला ढकाल
इलाम, असार १२ गते । नेपालमा इलाम भन्नेबित्तिकै चिया र चिया भन्नेबित्तिकै इलाम । पछिल्लो समय इलाम र चिया एकअर्काका पर्याय जस्तै हुन थालेका छन् । इलाम भित्रिने आन्तरिक तथा बाह्य पर्यटक रमाउने पहिलो रोजाइ नै चिया हो ।
इलाम प्रवेश गर्दैगर्दा देखिने सुन्दर कन्याम चिया बगानले हरेक पर्यटकको मन लोभ्याउँछ, चिया टिप्ने, फोटो भिडियो खिच्ने र चियासँग लुकामारी खेल्ने त सबैका लागि सामान्य जस्तै बनेको छ तर चियासँग रमाउने पर्यटकलाई चियाको जिल्लाले के दिन सक्छ भन्ने चाँहि चियासँग जोडिएका इलामका स्थानीय तहलाई फरक विषय भएको छ ।
देशकै पुरानो चिया बगान रहेको इलाम नगरपालिकाले यो पुरानो बगानलाई कसरी जोगाउने र संरक्षण गर्ने भन्ने पाटो केलाउन थालेको छ । मासिँदै गएको पुरानो बगानमा चियाका नयाँ बिरुवा लगाउने नीतिमा नगरपालिका लागेको छ । नगरपालिकाले आगामी आवदेखि इलाम भित्रिने पर्यटकलाई निःशुल्क चिया खुवाउन विभिन्न स्थानमा चिया स्टेसन बनाउने नीति तथा कार्यक्रममै उल्लेख पनि गरेको छ ।
विसं १९२० मा रोपिएको इलामको चिया बगान देशकै लागि पुरानो र अध्ययन अनुसन्धानकर्ताका लागि अध्ययनयोग्य छ । बगानकै बिचमा विसं १९३५ मा स्थापना भएको चिया कारखाना पनि देशकै पुरानो कृषि कारखाना भएको बताइन्छ । यो बगानलाई अध्ययन केन्द्रका रूपमा समेत राख्न इलाम नगरपालिकाले सङ्घीय सरकारलाई माग गरिरहेको छ । “सरकारले निजीकरण गरेको छ तर यो बगान जीर्ण अवस्थामा छ, चियाका पुराना बोट मासिइसकेका छन्, निजीकरणपछि लिनेले बगान संरक्षणमा ध्यान दिएको छैन,” इलाम नगरपालिकाका प्रमुख केदार थापाले भन्नुभयो, “यहाँको चिया इलामको गहना हो । यो जिल्लावासीलाई मात्र होइन इलाम भित्रिने पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण छ । अब चियालाई पर्यटकको मुख्य आकर्षकको केन्द्र बनाउनु पर्छ भनेर हामी लागिरहेका छौँ ।”
उता चियाकै राजधानी भनेर चिनिने सूर्योदय नगरपालिकाका चिया बगानमा बर्सैंभर आन्तरिक तथा बाह्य पर्यटक देखिने गरेका छन् । विभिन्न देशका राजदूतदेखि विभिन्न कामले आउने विदेशी नागरिक यहाँको चियामा रमाउँछन् । विषेशतः यहाँको चियाले नै पर्यटकलाई लोभ्याउने गरेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बताउनुहुन्छ ।
“सूर्योदय नगरपालिका घुम्न आउने विदेशी पर्यटकलाई चिया टिप्ने व्यवस्थादेखि चिया चखाउने गरिएको छ,” नगरप्रमुख राईले भन्नुभयो, “प्रदेश सरकारको सहयोगमा स्थापना भएको कन्यामको टी टेस्टिङ सेन्टरले विदेशी क्रेता भित्र्याउन सहयोग गरेको छ । यसले इलाममा उत्पादित चियालाई बजारीकरणका लागि पनि सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ ।” हेर्दा सुन्दर देखिए पनि चियाको भित्री पाटो के छ भन्ने कुरा इलाम भित्रिने पर्यटकलाई जानकारी गराउन सक्नुपर्ने केचना–कञ्चनजङ्घा पर्यटन प्रवर्धन समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली बताउनुहुन्छ । “चिया रोप्ने, गोड्ने, टिप्ने, त्यसलाई तयारी चिया बनाउन गरिने प्रशोधन र परीक्षण सबै कुरा दिन सक्दा मात्र साँच्चै चिया पर्यटन पूरा गर्न सकिन्छ,” द्यौरालीले भन्नुभयो, “तल्लो तहसम्म स्थानीय तहहरू पनि पुग्न सकेका छैनन् । राज्यले त्यहाँ लगानी गर्न आवश्यक छ ।” द्यौरालीले चिया पर्यटनका लागि चिया बगान पनि सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
जिल्लामा चिया पर्यटनको सम्भावना राम्रो भए पनि त्यसमा कसैको पनि खासै तत्परता नदेखिएको होटेल सङ्घ इलामका अध्यक्ष देवी पौड्यालको भनाइ छ । “चिया क्षेत्रमा घुमाउन लाने, उतै बास बसाउने, चिया टिपाउने, प्रशोधन देखाउने, इलामबाट फर्कनेलाई कोसेली तयार गर्ने यी काम कम भएका छन् ।” पौड्यालले भन्नुभयो, “चिया बगानमा गएर फोटो खिच्ने मात्र चिया पर्यटन भनेर हाम्रो बुझाइ गलत छ ।”
स्थानीय उत्पादन हुने सल्लोका काठ, बाँसबाट ससाना बाकस बनाएर थोरै मूल्यमा पाइने गरी चियाको कोसेली तयार गर्न सक्दा त्यसले किसानको पनि आयआर्जनमा सहयोग पुग्ने पौड्यालको बुझाइ छ ।
चियाको अध्ययन अनुसन्धानमा आउनेले लामो समय चिया क्षेत्रमै बिताउने हुँदा सरकारी र निजी दुवै क्षेत्रले चियामा लगानी बढाउन आवश्यक रहेको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ ।
“सम्भावना राम्रो छ, एक/दुई उद्योगलाई मात्र पनि पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सक्दा चियामा दिन बिताउने पर्यटक धेरै भित्रिन सक्छन्,” अध्यक्ष पौड्यालले भन्नुभयो, “कोही लगानीकर्ता यस क्षेत्रमा आउन चाहान्छ भने हामी सहयोग गर्न तत्पर छौँ ।”