• १२ असार २०८२, बिहिबार

व्यवसाय प्रवर्धनका लागि कृषकलाई अनुदानमा मौरीघार

blog

कृषकलाई मौरीघार वितरण गर्नुहुँदै उपप्रमुख थापा । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), असार १२ गते ।
मौरीपालन व्यवसाय प्रवर्धन गर्न रामपुर नगरपालिकाले कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । नगरपालिकाले नगर भित्रका ३९ जना मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।  

नगरपालिकाले कृषकहरुको मागको आधारमा ९५ वटा आधुनिक मौरीको घार वितरण गरेको हो । कृषकहरुलाई घार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले मौरीपालन व्यवसायबाट थोरै लगानी पनि राम्रो आम्दानी गर्न सकिने भएकाले व्यवसायीकरणका लागि घार उपलब्ध गराएको बताउनुभयो । नगर भित्र व्यवसायिक रुपमा मौरी पालन गर्ने कृषक न्यून रहेको भन्दै मौरीपालनलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो ।  

परम्परागत घारमा मौरीपालन गर्दै आएका मौरीपालकहरुलाई धेरै उत्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले घर वितरणका लागि दुई लाख विनियोजन गरेको थियो । कृषकहरुलाई मौरीघार मागको आधारमा वितरण गरिएको जानकारी दिनुभयो । प्रति घार चार हजार दुई सय मूल्य बराबरको घार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

आधुनिक घारमा मह निकाल्न र माउ उत्पादन गरी सङ्ख्या वृद्धि गर्न सजिलो हुने भएकाले अनुदानमा प्राप्त घारले उत्पादन वृद्धि गर्न र व्यवसायीक रुपमा अगाडि बढ्न प्रेरित गरेको रामपुर–८ कृषक बुद्धिसागर अधिकारीले बताउनुभयो । रामपुर–१० का कृषक लोक प्रसाद श्रेष्ठले अन्य पेशा र व्यवसायभन्दा मौरिपालन सजिलो हुने भएकाले कार्यक्रमले परम्परागत घारलाई विस्थापित गरी व्यवस्थित र व्यवसायिक रुपमा मौरी पालन व्यवसाय गर्न मद्दत पुगेको बताउनुभयो ।