• २३ वैशाख २०८१, आइतबार

बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख १४ गते । पछिल्लो समय सिन्धुपाल्चोकमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेपछि बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेको हो । 

जिल्लाभर ५५ वटा बर्थिङ सेन्टर छन् तर सुत्केरीलाई आवश्यक पर्ने रगतका लागि ब्लड बैङ्क एउटा पनि नहुँदा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजागाईँले जानकारी दिनुभयो । ब्लड बैङ्कका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने उहाँले आग्रह गर्नुभयो । 

जिल्लास्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकमा प्रमुख बजागाईँले प्रजनन स्वास्थ्यसम्बन्धी व्रिmयाकलापको समीक्षा, लेखाजोखा तथा कार्ययोजनाबारेमा जानकारी दिनुभयो । बैठकमा गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवाका बारेमा छलफल भएको थियो । गत वर्ष हेलम्बु गाउँपालिकाले सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरेर राजधानीका अस्पताल पु-याएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा नौ जना नवजात शिशुको मृत्यु भएकामा चालु आवमा नवजात शिशु मृत्यु नभएको प्रमुख दुर्गाले बताउनुभयो तर चालु आवमा चौतारा साँगचोकगढी नगरपालिकामा दुई जना सुत्केरीको अत्यधिक रगत गएर मृत्यु भएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा गर्भजाँच, खोप र सुत्केरी हुनेको सङ्ख्या वृद्धि भएको कार्यालयले जनाएको छ ।