• ८ वैशाख २०८१, शनिबार

समृद्विका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण आवश्यक : गृहमन्त्री श्रेष्ठ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, जेठ २१ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताउनुभएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २१ मा आइतबार रुदायणी देवीको १२ वर्षे मेलाको अवसरमा आयोजित देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समृद्धिको प्रतिफल आम जनताले पाउने गरी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु सरकारको उद्देश्य रहेको बताउनुभयो।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सुन्दर समाज जो स्वाधिन, लोकतान्त्रिक छ, यो समुन्नत समृद्ध देश पनि हुन्छ। देशका जनताले आफ्ना मौलिक पहिचान र संस्कृतिसहित आफ्नै देशमा राम्रो जीवन गुजार्ने वातावरण निर्माण हुन्छ। यसका निम्ति संस्कृतिको रक्षा गर्न हामीले हाम्रै देशमा युवाले श्रम सिञ्चित गर्ने वातावरण बनाउनुपर्छ।”

उहाँले भ्रष्टाचारको विकृति बढ्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “राम्रो संस्कृति एकातिर छ भने अरु–अरु संस्कृतिले पनि गाँज्न थालेको छ, भ्रष्टाचारको संस्कृतिले। पहिला भ्रष्टाचारको संस्कृति थिएन। शंखध्वर साख्वाले सारा ऋणीको ऋण मोचन गर्न आफ्ना सम्पत्ति वितरण गरेर महान् काम गर्नुभयो। त्यस्ता महान् संस्कृति यो समुदायमा रही आएको छ। तर, विस्तारै सद्भाव, एकताको, सामूहिकता, न्यायको संस्कृति लोप हुँदै जाने र व्यक्तिवाद र भ्रष्टाचारको संस्कृति पनि हाबी हुँदै गएको छ।” भ्रष्टाचारको यो संस्कृति अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ।