• १४ वैशाख २०८१, शुक्रबार

संसद् अधिवेशन आजदेखि

blog

काठमाडौँ, वैशाख २४ गते । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको पहिलो दिन नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सङ्घीय संसद्लाई प्रभावकारी बनाउनेसम्बन्धी कार्ययोजनामा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रममा के विषयवस्तुलाई प्राथमिकता दिने सन्दर्भमा कुराकानी भयो । यसलाई व्यवस्थित रूपमा अघि बढाउने सहमति पनि भएको छ । 

‘विश्वासको मत लिनुपर्दैन’

सत्ता साझेदार दलहरूको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत लिनु नपर्ने ठहर गरेको छ । नेता पाण्डेले भन्नुभयो, “विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन । त्यो आवश्यक छैन ।” 

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा विभिन्न विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन गर्नुभएको प्रतिबद्धताअनुसार काम अघि बढाउने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्योमध्ये नागरिकताका विधेयकलाई कसरी व्यवस्थित गर्ने ? सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐनसहित अत्यावश्यक विधेयकहरूलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने भन्ने विषयमा पनि छलफल भयो ।”

त्यसैगरी संसद्का विषयगत समितिको कामको सन्दर्भमा पनि छलफल भएको छ । साथै प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा पनि सत्ता साझेदार दलको बैठकमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार शीर्ष नेताहरूले विधेयकसँगै प्रधानन्यायाधीश नियुक्ति गर्ने विषयमा पनि कानुन व्यवसायीको राय लिनुभएको छ ।नेता पाण्डेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथिको कानुनी कारबाहीलाई दृढताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।