• ७ वैशाख २०८१, शुक्रबार

तनहुँ–१ मा त्रिपक्षीय रोचक भिडन्त

blog

तनहुँ, वैशाख ७ गते । यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेपाल कम्युनिस्ट पार्टी एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

पार्टीका उम्मेदवार र नेताहरू घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका छन् । लाभको पदमा नपुगीकन पनि ५९ वटा खानेपानीको योजना, विद्युतीकरण, विद्यालय निर्माण, सडक, पुल पुलेसा बजेट पार्न सफल भट्टराई कांग्रेसका सरल तथा स्वच्छ छवि भएका विकास प्रेमी युवा नेता हुनुहुन्छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित आठ दलीय सत्ता गठबन्धनको ठुलो साथ रहेकोले अत्यधिक बहुमतका जित्नेमा भट्टराई ढुक्क हुनुहुन्छ । आफू पदमा  नहुँदा पनि उल्लेखनीय विकास गरेको र सत्ता गठबन्धनको कांग्रेस र माओवादी केन्द्र नेकपा एस, जसपाको मतबाट आफू विजयी हुनेमा कुनै शङ्का नरहेको भट्टराईले बताउनुभयो । २०७९ मङ्सिर ४ को निर्वाचनमा यस क्षेत्रबाट विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि सो क्षेत्रमा ती पार्टीले हेवीवेट उम्मेदवारहरू उठाएपछि उनीहरू बिच कडा प्रतिस्पर्धा हुने देखिएको विश्लेषकहरू बत्ताउँछन् । नेपाली कांग्रेसका भट्टराई पुरानै विरासतलाई जोगाउने दाउमा हुनुहुन्छ । एमाले गुमेको विरासतलाई फर्काउने दाउमा छ । 

२०७४ को निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान विजयी हुनु भएको थियो । त्यस समयमा श्रेष्ठलाई माओवादी केन्द्रको साथ रहेको थियो । रास्वपाले कांग्रेसको मत धेरै काट्ने र आफ्नो जोगाएर चुनाव जित्ने रणनीतिमा एमाले रहेको छ ।

रास्वपाका उम्मेदवार वाग्ले अर्थविद् र देशव्यापी रूपमा परिचित व्यक्तित्व भएकाले पनि राम्रै मत प्राप्त गर्ने आङ्कलन गरिएको छ । मतदाताहरूले परिवर्तन खोजिरहेका आफूले जित्ने वाग्ले बताउनुहुन्छ ।  उनीहरू पनि यस पटकको चुनाव आफूहरूले जित्ने दाबी गर्नुहुन्छ । यता कांग्रेसले भने २०७९ मङ्सिर ४ को आफ्नो मत सुरक्षित गरेर चुनाव जित्नेमा ढुक्क छ । २०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो  ।

सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले काँग्रेस छोडेर उम्मेदवार बन्नु भएको हो  । यता पूर्व मन्त्री जोशीले आफूमाथिको कारबाही फुकुवा गरे पनि यति बेला आफू कांग्रेस नै नरहेको बताउनु भएको छ । आफ्नो समूहको मत कुन उम्मेदवारलाई सहयोग गर्ने हो त्यस बारे जोशी खुलिसक्नु भएको छैन । भट्टराई खानेपानी नेताका रूपमा समेत गाउँ गाउँमा चिनिएकाले पहिलो पटक संसदीय चुनावमा अवसर पाएको भन्दै उनलाई जिताउन समेत एक थरी लागिपरेका छन् ।  

तीनै पार्टीले राष्ट्रिय स्तरमा चर्चा कमाएका हेभीवेट उम्मेदवार मैदानमा उतारेकोले भएपछि उप–निर्वाचन निकै रोचक बनेको छ ।

Author

अमरराज नहर्की