सुधा देव
भारदह(सप्तरी), कार्तिक ३० गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर फर्किएका छन् ।
चार जनाको भने होम आइसोलेसनमा उपचार भइराखेको छिन्ननमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।
बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरूको टोली बस्तीमा निरन्तर खटिएकाे छ । बिरामी हुन नदिनका लागि जनचेतनासँगै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । हैजा फैलिएर स्थानीय बुधन सदाका ८ वर्षीया छोरी राघिनी, ४ वर्षीय छोरा सञ्जीव र ६५ वर्षीय बुबा लक्ष्मण सदाको मृत्यु भएको थियो । एकै गाउँका पाँच जनामा हैजा पुष्टि भएको थियो ।
बस्तीमा झाडापखाला हैजा फैलिएपछि स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पानीको परीक्षण गराएको छ । भलुवाही खोला र पोखरीको पानीमा हैजाको जीवाणु भेटिएपछि त्यहाँको पानी प्रयोग गर्न सबैलाई रोक लगाएको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।