• १५ जेठ २०८१, मङ्गलबार

कार्यालयको बोर्ड र छापमा प्रदेशको नाम प्रयोग नगर्न आग्रह

blog

पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रमबारे जानकारी गराइँदै।तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २८ गते। ताप्लेजुङस्थित प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले सरकारी तथा गैरसरकारीलगायत कार्यालयले आफ्नो बोर्ड, छाप र लेटरप्याडमा कोशी प्रदेश प्रयोग नगर्न आग्रह गरेको छ।

समितिले सदरमुकाम फुङ्लिङमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै कोशी नामाकरणविरुद्ध जारी आन्दोलनलाई सहयोग पुर्‍याउन कोशी शब्द तत्काल प्रयोगमा नल्याउन आग्रह गरेको हो ।

प्रदेश १ को कोशी नामकरण गरेपछि यसविरुद्ध आन्दोलनमा उत्रिएको संयुक्त सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।जिल्लास्थित नेपाल आदिवासी जनजाति महासङ्घ, किराँत याक्थुङ चुम्लुङलगायतका जातीय संस्था र केही राजनीतिक दलसमेत १५ वटा सङ्घ सङ्गठन आवद्ध सङ्घर्ष समितिले शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर्न सबै निकायलाई आग्रह गरेको छ ।

कोशी नामकरणलाई खारेज गरी पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने लगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन भइरहँदा प्रदेश सरकारले बेवास्ता गरिररहेको हुँदा आन्दोलनलाई थप सशक्त बनाउँदै लैजान आफूहरु बाध्य भएको उल्लेख गरिएको छ।समितिले अघि सारेको मागहरु पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने र आन्दोलनलाई सफल बनाउन सबै स्थानीय तहसहित सरकारी तथा गैरसरकारी कार्यालयलाई बोर्ड, छाप र लेटरप्याडमा कोशी नलेख्न आग्रह गरिएको जनाइएको छ।

यता आफ्ना माग र आग्रहलाई बेवास्ता गरिए प्रतिक्रियात्मक रुपमा सङ्घर्ष समिति उत्रन बाध्य हुनेसमेत विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ।सो क्रममा कुनै क्षति वा नोक्सानी हुन पुगेकामा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।सङ्घर्ष समितिमा नेवा द्य दवु, नेपाल तामाङ घेदुङ, तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्, सुनुवार सेवा समाज, किराँत राई यायोक्खा, खसजाती एकता समाजलगायत अन्य जातीय संस्था रहेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान क्रान्तिकारी पार्टीलगायतका राजनीतिक दल तथा सङ्गठनहरु सङ्घर्ष समितिमा आवद्ध रहेका छन्।

प्रदेश १ को कोशी नामकरण गरेलगत्तै सुरु भएको कोशीविरुद्धको आन्दोलनका क्रममा बन्द हड्तालसहितका क्रियाकलाप हुँदै आएको छ भने एकजनाको ज्यानसमेत गइसकेको छ।प्रदेश १ को गत फागुन १७ गते कोशी नामकरण गरिएको हो।