• १३ वैशाख २०८१, बिहिबार

भानु कस्तुरा सङ्घर्षशील नारी पुरस्कार गङ्गा पौडेललाई

blog

भानु कस्तुरा संघर्षशील नारी पुरस्कार साहित्यकार गंगा पौडेललाई प्रदान गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरेसहितका अतिथि ।

काठमाडौं, चैत १२ गते। वरिष्ठ साहित्यिक पत्रकार तथा कवि भवानी घिमिरेको सम्झनामा स्थापना गरिएको भानु कस्तुरा सङ्घर्षशील नारी पुरस्कार साहित्यकार गङ्गा पौडेललाई प्रदान गरिएको छ। 

शनिबार राजधानीमा आयोजित एक समारोहमा पौडेललाई सम्मानपत्र र नगदसहितसम्मान अर्पण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार प्रदान गर्नुभएको हो। 

सोही कार्यक्रममा हरेक वर्ष प्रदान गरिँदै आएको भानु भवानी पत्रकारिता पुरस्कार दायित्व द्वैमासिकका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिएको छ। दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रदान गर्नुभएको हो। 

कार्यक्रममा यसै वर्ष स्थापना गरिएको शिक्षा क्षेत्रको पुरस्कार अरुणिमा फाउण्डेशनलाई प्रदान गरिएको छ। कार्यक्रममा फाउण्डेशनका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। 

कार्यक्रममा भानु पत्रिकालाई सम्पादनका माध्यमबाट अगाडि बढाउन सहयोग पुर्‍याउनु हुने पूर्व सम्पादकहरू नरनाथ लुइँटेल र रामप्रसाद ज्ञवालीलाई अभिनन्दन गरिएको थियो। 

कार्यक्रममा साहित्यकार मोहन दुवाल, भानु मासिकका पूर्व सम्पादक, पूर्व मन्त्री शान्ता मानवी, शिवानी घिमिरे, राधेश्याम लेकाली, गोविन्द घिमिरे वेदमणि, विमल भौकाजी, नरेन्द्रबहादुर श्रेष्ठ लगायत साहित्यकार एवम् विशिष्ट  साहित्यिक व्यक्तित्वको उपस्थिति थियो।  कार्यक्रमलाई सम्मानित, अभिनन्दित प्रतिभाका साथै प्रमुख अतिथि र विशेष अतिथि मोहन दुवालले सम्बोधन गर्नुभयो। 

भानु नेपाली मासिक परिवारले आयोजना गरेको कार्यक्रममा भानु मासिकका संस्थापक भवानी घिमिरेको कविताको साङ्गीतिक प्रस्तुति राखिएको थियो। कविताको साङ्गीतिक प्रस्तुतिमा कुन्दन पाठक, निमेष कपाली, सलिना विक, मान्यता घिमिरेलगायतको सहभागिता थियो। 

पाठशाला नेपालको नाट्यशाला, थापागाउँमा आयोजित कार्यक्रमको सभापति साहित्यकार डा. रमेश शुभेच्छुक हुनुहुन्थ्यो भने कार्यक्रममा सहभागीलाई साहित्यकार परशुराम पराजुली परासरले स्वागत गर्नुभएको थियो।