चीन यात्राको पूर्वसन्ध्यामा हामीले ‘स्पेट्रम’ जर्नल निकालेका थियौँ । अङ्ग्रेजी भाषामा प्रकाशित त्यस जर्नलका सम्पादकहरूमा रामबाबु सुवेदी, हरिहर खनाल, डा. तुलसी भट्टराई, विष्णु प्रभात र केके कर्माचार्यसमेतको एउटा समूह थियो । त्यस जर्नलमा प्रकाशित सबै चित्र केकेज्यूकै सिर्जना हुन् ।
पुस्तक प्रकाशनको सिलसिलामा झोँछेँस्थित शान्तदास मानन्धरको प्रभात प्रिन्टिङ प्रेसमा २०३७ सालतिर पुगेको थिएँ– म । त्यहीँ नै हो पहिलो पटक कलाकार केके कर्माचार्यको नाम सुनेको । त्यसपछिका वर्षमा कहिले औपचारिक र कहिले अनौपचारिक कार्यक्रमका सिलसिलामा समय समयमा हाम्रो भेटघाट हुन थाल्यो ।
विसं २०६४ देखि म काठमाडौँ आएपछि हामीबिचको भेटघाट झन् घनीभूत हुँदै गयो । यस कार्यले एकआपसमा मित्रताको सम्बन्ध कसिलो बनाउन मद्दत मिल्यो ।
अल्पभाषी केके कर्माचार्य मैले जानेदेखि नै निकै कम बोल्नुहुन्थ्यो । त्यसमा पनि उहाँ चाहिने कुरा मात्र टक्क भन्नुहुन्थ्यो । अनौपचारिक संवादको समयमा पनि उहाँको अनुहारको भावभङ्गिमा सधैँ उज्यालो देख्न पाइन्छ । बाह्य रूपमा अल्पभाषी भए पनि उहाँको आन्तरिक मनमा सधैँ नवसिर्जनाको हुरी चलिरहन्छ कि जस्तो लाग्छ । एकान्तमा बसेर कला सिर्जनाको फूलबारीमा विचरण गरिरहने, चिन्तनको सागरमा वेग हानिरहने उहाँसँग कहिलेकाहीँ सँगै बसेर उहाँको सिर्जना संसारका प्रतिफल, चित्रहरू हेरिरहँदा मनमा आएका भावलाई रोक्न नसकेर कतिपय समयमा मैले भन्न पुगेको छु, “केकेजी, तपाईंका यी सुन्दर सिर्जनाहरू देखेपछि मलाई पनि मनमा चित्रकला बनाउने इच्छा जाग्छ, तपाईंसित क्लास लिनुपर्ला जस्तो लाग्छ ।” मेरो कुरा सुनेर काममा तल्लीन भइरहेको समयमा पनि उहाँ टक्क अडिएर हाँस्दै “यो उमेरमा पनि ?” भनेर उल्टै प्रश्न गर्नुहुन्छ । अनि उहाँको स्वरमा स्वर मिलाउँदै “त्यो त हो, जब प¥यो राति, अनि बुढी ताती गरेर त के होला र ?” भन्न पुग्छु म । अनि हामी दुवै एकअर्कालाई हेरेर हाँस्छौँ ।
म यतै काठमाडौँतिर बस्न थालेपछि हामीबिचको उठबस पनि बढी घनीभूत हुँदै गयो । २०६५ सालमा अर्जुन पराजुलीले मेरो एउटा उपन्यास ‘उज्यालोको खोजीमा’ प्रकाशन गरिदिनुभयो । त्यसको आवरण बनाइदिन मैले केकेजीलाई नै अनुरोध गरेँ । त्यसपछिका मेरा अधिकांश कृतिका आवरण डिजाइन उहाँले नै बनाइदिने गर्नुभएको छ । त्यति मात्र नभएर मेरा अन्य केही साथीका कृतिका आवरण पनि मेरै अनुरोधमा उहाँले बनाइदिनुभएको छ तर ‘खोलो तरेपछि लौरो बिर्सने’ उखानलाई चरितार्थ गर्ने हाम्रो संस्कृतिको एउटा अङ्ग भए पनि मैले त्यस्तो गर्नु हुन्न भन्ने कुरा सधैँ हेक्का रहन्छ मेरो मनमा ।
सन् २००९ जुन, तदनुसार २०६६ असारमा ५६ जनाको एउटा विशाल टोलीको नेतृत्व गर्दै १६ दिने यात्रामा हामी छिमेकी मित्रराष्ट्र चीन भ्रमणमा गएका थियौँ । भ्रमणदलको संयोजक रामबाबु सुवेदी र सहसंयोजक म थिएँ । हाम्रो सिफारिस अनुसार चीन भ्रमणमा जाने साहित्यकार, कलाकार, चित्रकार, सङ्गीतकार र सामाजिक व्यक्तित्वहरू चयन हुनुभएको थियो । कलाकार केके कर्माचार्य हामीमध्ये एक हुनुहुन्थ्यो । चीन यात्राको पूर्वसन्ध्यामा हामीले ‘स्पेट्रम’ जर्नल निकालेका थियौँ । अङ्ग्रेजी भाषामा प्रकाशित त्यस जर्नलका सम्पादकहरूमा रामबाबु सुवेदी, हरिहर खनाल, डा. तुलसी भट्टराई, विष्णु प्रभात र केके कर्माचार्यसमेतको एउटा समूह थियो । त्यस जर्नलमा प्रकाशित सबै चित्र केकेज्यूकै सिर्जना हुन् ।
काठमाडौँदेखि ल्हासासम्मको हवाई यात्रा, त्यसपछि दुई दिनको ल्हासा बसाइमा त्यहाँको नेपाली महावाणिज्य दूतावासले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा आयोजित समारोहमा महावाणिज्य दूत ङइन्द्रप्रसादलाई भेट्दा केकेजीको प्रसन्नताको सीमा नै नभए जस्तो हामीले महसुस गरेका थियौँ । खासमा उहाँहरू दुई जना पूर्वपरिचित, सहकर्मी साथीहरू हुनुहुँदो रहेछ ।
दुईदिने आरामदायी ल्हासा बसाइका क्रममा हामीले पोताला दरबारसँगै अवलोकन ग¥यौँ– जोखाङ मोनास्ट्री पुगेर नेपाली चेली भृकुटीको दरबार हे¥यौँ । त्यसपछि ‘संसारको छाना’ भनेर चिनिने तिब्बतको पठारबाट सलल बग्दै फलामका लिकमा चिप्लेटी खेल्दै कुदेको अत्याधुनिक विद्युतीय रेलको यात्रा गर्दै तिब्बतको अत्यन्त सुन्दर उच्च भागको अवलोकन गरी ३६ घण्टाको अविरल यात्रापछि सिल्क रोडको उद्गमस्थल चीनको पुरानो राजधानी सहर सियान पुग्यौँ । त्यहाँ पनि दुई दिनको बसाइपछि पुनः उस्तै उही रेलमार्गबाट १२ घण्टाको कुदाइपछि बेइजिङ पुग्यौँ ।
बेइजिङमा हेर्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन् तर छोटो यात्रामा ती सबै अवलोकन गर्न सम्भव छैन । तैपनि हामीले तियानमेन स्क्वायर, फर्बिडन सिटीको केही भाग, माओ मेरोरियल हल, ग्रेट हल अफ दी पिपुल, बर्ड नेस्ट नामले प्रसिद्ध रङ्गशालाको बाहिरी भाग, ग्रेटवाल, लुसुन सङ्ग्रहालय, तियानजिन सहर र त्यससँगै जोडिएको समुद्र आदि घुमघाम गर्ने अवसरको सदुपयोग ग¥यौँ ।
पाँच दिनको बेइजिङ बसाइका क्रममा हामी श्वेत चैत्यपरिसर पुग्दा केकेजीको मुखमुद्रा र भावभङ्गिमा मैले निकै प्रफुल्ल देखेँ । तत्कालीन चीन सरकारको निमन्त्रणामा १३ औँ शताब्दीमा बेइजिङ पुगेका नेपाली कलाकार अरनिकोको पूर्ण कदको प्रतिमा त्यहाँ थियो । फोटोग्राफीको विकास भइनसकेको समयका अरनिको कस्ता हुँदा हुन् अथवा उनको स्वरूप कस्तो हुँदो हो भन्ने कुराको हामी केवल लख काट्न मात्र सक्छौँ । तिनै महान् कलाकारको स्वरूप यस्तो हुँदो हो भन्ने परिकल्पनाका भरमा हाम्रा कलाकार मित्र केके कर्माचार्यद्वारा तयार गरिएको चित्रकै आधारमा त्यो पूर्ण कदको मूर्ति तयार गरिएको थियो भन्ने जानेपछि हामी सबैको मुहार र मन उहाँसँगै एकदम प्रफुल्लित भएको थियो । तियानजिन यात्रामा पनि हामीले धेरै ठाउँ र वस्तु सँगसँगै अवलोकन गरेका थियौँ । हामी सामान्य मानिस नयाँ कुरा र नयाँ ठाउँ देखेपछि यत्तिकै मक्ख परेर रमाउँछौँ, उहाँ भने वस्तुहरूलाई कलाकारका आँखाले हेर्नुहुन्छ र त्यस्तो स्थानका दुर्लभ स्न्यापहरू आफ्नो क्यमरामा कैद गर्नुहुन्छ ।
हाम्रो त्यो दुईहप्ते ऐतिहासिक चीन यात्रा हामीले ल्हासाबाट सुरु गरेर सियान, बेइजिङ, तियानजिन, साङ्घाई, सेनजेन, गोन्जाओ, हङकङ हुँदै घर फर्केपछि मैले यात्राका समयमा टिपोट गरेका कुराहरूलाई ‘चीनको डायरी’ शीर्षक दिएर एउटा कृति तयार गरेको थिएँ । त्यसको आवरणका लागि मेरा उनै कलाकार मित्र केके कर्माचार्यलाई अनुरोध गरेँ । उहाँले त्यो सहर्ष स्वीकार गर्नुभयो । उहाँले अहिलेसम्म निर्माण गरेका मेरा कृतिहरू ‘उज्यालोको खोजीमा’, ‘चीनको डायरी’, ‘बेलाइती दैनिकी’, ‘ब्राइटनमा सूर्यस्नान’, ‘समालोचकका आँखामा हरिहर खनाल’, ‘युघको पीडा’, ‘आगन्तुक’, ‘सहिदगेटकी आमा’, ‘चिठीपत्रमा हरिहर खनाल’, ‘हरिहर खनाल ग्रन्थावली’ भाग १, २, ३ र मेरा ११ थान इबुकका आवरण केकेले बनाइदिनुभएको छ ।
विसं २०७२ चैत २५ गते साझा प्रकाशन सञ्चालक समितिको निर्वाचन भयो । त्यस निर्वाचनबाट मलगायत डा. विजय सुब्बा र जीवनचन्द कोइराला निर्वाचित भयौँ । सरकारी मनोनीतका तर्फबाट सर्वश्री दीनानाथ शर्मा, प्रदीप नेपाल र डा. कृष्णहरि बराल सञ्चालक हुनुहुन्थ्यो । चैत मसान्तमा बसेको बैठकमा विविध विषयमा छलफल भएका थिए । साझा प्रकाशनको मुखपत्र ‘गरिमा’ विगत छ महिनादेखि प्रकाशनमा आएको थिएन । बैठकमा दीनानाथ शर्माले “गरिमालाई नियमित प्रकाशनका लागि सञ्चालकका तर्फबाट सरले सहयोग गरिदिनु प¥यो” भनेर मलाई अनुरोध गर्नुभयो । आफू सञ्चालक सदस्य भइसकेपछि पत्रिकाको अस्तित्व जोगाइराख्नु आफ्नो पनि दायित्व हो भन्ने मलाई महसुस भयो र “ठिकै छ, मैले सकेको सहयोग गरूँला” भनेर स्वीकृति जनाएँ । त्यसपछि सञ्चालकको दायित्वबाहेक पत्रिकाको प्रधान सम्पादकका रूपमा पनि मेरो जिम्मेवारी थपियो तर त्यो मेरो सेवा नितान्त बिनापारिश्रमिकको स्वयंसेवी प्रकारको थियो । मैले भित्रै हृदयदेखि संस्थालाई उठाउनु पर्छ भन्ने मनमा लागेर आफूले देखेको काम गरेँ । पत्रिकालाई पनि नयाँ स्वरूपमा ल्याउनु पर्छ भन्ने मलाई लाग्यो । त्यसपछि पत्रिकाको आवरण पृष्ठ तयार गर्न मैले केके कर्माचार्यलाई अनुरोध गरेँ । उहाँले मेरो वचन शिरोधार्य गरी प्रत्येक महिना सुन्दर आवरण तयार गरिदिनुभएको थियो ।