गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पुरस्कृत स्रष्टालाई सम्मान गर्नुभयो । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले जनही एक लाख रुपियाँ राशिको ‘प्रज्ञा पुरस्कार’ १२ जनालाई र जनही ५० हजार रुपियाँ राशि रहेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ सात जनालाई प्रदान गर्नुभयो ।
प्रज्ञा पुरस्कार–२०८२ बाट समालोचनातर्फ प्राडा अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुति, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय र सामाजिक शास्त्रतर्फ डा. डम्बर चेम्जोङ पुरस्कृत हुनुभएको छ । यसै गरी पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्राडा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ र अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत) लाई सो पुरस्कार प्रदान गरियो । मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योन्जनले प्रज्ञा पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतिष्ठानले यसै वर्षदेखि पहिलो पटक स्थापना गरेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२’ सातै प्रदेशका स्रष्टालाई प्रदान गरेको छ । जस अनुसार कोशी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय वन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल ‘सोडारी’ सम्मानित हुनुभयो ।