• १९ वैशाख २०८३, शनिबार

सबै मिलेर देश बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १९ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मिलेर देश बनाउनुपर्नेमा जोड दिनुभएको छ । भीरकोट नगरपालिका–१ मा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र स्थानीय तहलाई आदेशभन्दा कानुन परिमार्जन गरेर विकासलाई गति दिन आग्रह गर्नुभयो ।

आर्थिक स्रोत सीमित भएकाले जनताले अपेक्षा गरेअनुसारको विकास दिन नसकिएको उहाँको भनाइ थियो । पुराना दलहरूले वर्षौंदेखि धेरै काम गरेको उल्लेख गर्दै अब नयाँ सरकारले थप प्रभावकारी रूपमा काम गर्ने पालो आएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले देखिने गरी काम गरेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले वर्षौंदेखि रुग्ण अवस्थामा रहेका योजनालाई प्रदेश सरकारले पूर्णता दिने बताउनुभयो । “कम बजेट भए पनि धेरै काम गर्ने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो, “विनियोजित बजेटभित्र रहेर मात्रै काम गर्ने नीति लिएका छौँ ।”

यसैगरी, पूर्वमन्त्री धनराज गुरुङले देशको हितका लागि अध्यादेश ल्याउनु गलत नभए पनि पार्टी स्वार्थका लागि भने ल्याउन नहुने बताउनुभयो । राम्रा कामको समर्थन र गलत कामको विरोध गर्नुपर्ने बताउँदै गुरुङले विकासमा राजनीति गर्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, भीरकोटका पूर्वनगर प्रमुख छायाराम खनाल, नगर प्रमुख गोविन्द कर्माचार्य, नगर प्रवक्ता दीपेन्द्र केसी तथा नगर उपप्रमुख भगवती रेग्मीलगायतले मन्तव्य राख्नुभएको थियो ।

गजेन्द्र निर्माण सेवाले भवन निर्माण गरेको हो । भवन निर्माणमा संघीय सरकारको दुई करोड ६७ लाख, गण्डकी प्रदेश सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ६२ लाख तथा भीरकोट नगरपालिकाको लगानी गरी कुल सात करोड २१ लाख रुपियाँ खर्च भएको बताइएको छ ।

छ रोपनी आठ आना क्षेत्रफलमा बनेको भवन निर्माणका लागि पाँच जनाले जग्गा सहयोग गरेका थिए । भवनमा एक सभा कक्षसहित २५ वटा कोठा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो ।