रामकृष्ण बोहरा
बागलुङ, वैशाख १९ गते । नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । तीमध्ये ७० प्रतिशत बिरामी उपचारको सहज पहुँचबाट टाढा छन् ।
मानसिक समस्याको समयमै उपचार गरे सहजै निको हुन सक्ने भएकाले समुदायमा पर्याप्त सचेतना र विशेष अभियान आवश्यक देखिएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै बागलुङ नगरपालिकाले मनोविमर्शकर्ता जनशक्ति तयार गरेको छ ।
मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नगरपालिकाले ह्युमन नेपालसँग सहकार्य गरी ६ महिने तालिम सञ्चालन गरेर २० जना मनोविमर्शकर्ता तयार गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । तालिममा ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।
नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट तालिम सञ्चालन गरिएको थियो । तालिमपछि अधिकांश मनोविमर्शकर्ता स्वयंसेवी रूपमा विभिन्न पालिका, विद्यालय र समुदायमा पुगेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् । तालिममा सहभागी एक जनालाई बागलुङ नगरपालिकाको हिंसा प्रभावित सेवा केन्द्रमा आबद्ध गरिएको छ ।
“सामूहिक परामर्शसँगै पहिचान भएका प्रभावितहरूलाई स्वयंसेवी मनोविमर्शकर्ताले परामर्श सेवा उपलब्ध गराइरहनुभएको छ,” उपप्रमुख खड्काले भन्नुभयो ।
मानसिक तथा मनोसामाजिक सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट उत्पादित दक्ष जनशक्तिलाई क्रियाशील बनाउन राज्यका निकायबाट थप सहयोग आवश्यक रहेको खड्काको भनाइ छ । विद्यालयमा विद्यार्थी मनोविमर्श कक्ष स्थापना गरी मनोविमर्शकर्ता राख्न सके बालबालिका तथा किशोरकिशोरीमा देखिएका समस्या समाधानमा प्रगति हुने उहाँले बताउनुभयो ।
“समाजमा लागू पदार्थ र मदिरा सेवनका कारण चिन्ता, डरत्रास तथा डिप्रेसनजस्ता समस्या भयावह बन्दै गएका छन् । यसले आपराधिक घटना पनि बढाएको छ । सामाजिक सञ्जाल र अनलाइन गेमको लतले किशोर तथा युवाहरू डिप्रेसनमा पुगेको देखिन्छ,” खड्काले भन्नुभयो, “मस्तिष्कमा आपराधिक सोच विकसित हुने अवस्थालाई नियन्त्रणमा राख्ने सवाल सबैको साझा चासो बन्नुपर्छ ।”
‘खुशी मन बागलुङ’ संस्था गठन
मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित मनोविमर्शकर्ताहरूले ‘खुशी मन बागलुङ’ संस्था गठन गरेका छन् । संस्थाले मनोविमर्श सेवा, सचेतना कार्यक्रम, तालिम तथा समुदायस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले मानसिक समस्या भएका व्यक्तिहरूलाई योजनाबद्ध संवाद तथा सहयोगमार्फत भावनात्मक, सामाजिक र मानसिक चुनौती बुझ्न, सामना गर्न तथा समाधानतर्फ अग्रसर गराउने लक्ष्य लिएको जनाएको छ । मनोविमर्शमार्फत व्यक्तिलाई आफ्ना समस्याप्रति स्पष्टता दिलाई सकारात्मक समाधानतर्फ डोर्याउनु ‘खुशी मन’को मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो ।