राजन रावत
हुम्ला, वैशाख १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले यस वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपियाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ । रैथाने बालीको प्रवद्र्धन तथा बजारीकरणका लागि लिमिटेडले ती बाली खरिद गरी काठमाडौँ लगेर बिक्री गर्ने गरेको हो ।
जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट यस वर्ष ८७ लाख ५०० रुपियाँ बराबरका रैथाने बाली खरिद गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरले बताउनुभयो ।
उहाँका अनुसार लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर ती बाली खरिद गर्दै आएको छ । सर्केगार्ड र सिमकोट गाउँपालिकाबाट २५४ दशमलव ७० क्विन्टल सिमी ५१ लाख ९४ हजार रुपियाँमा खरिद गरिएको छ । त्यसैगरी नाम्खा र सिमकोट गाउँपालिकाबाट ५० क्विन्टल उवा ६ लाख ५० हजार रुपियाँमा खरिद गरिएको छ ।
यस्तै नाम्खा र सिमकोट गाउँपालिकाबाट ४९ क्विन्टल तिते फापर ५ लाख १४ हजार ५०० रुपियाँमा खरिद गरिएको छ भने सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट ५५ क्विन्टल चिनो १० लाख १७ हजार ५०० रुपियाँमा खरिद गरिएको छ ।
त्यसैगरी सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट ७७ क्विन्टल कागुनो १४ लाख २४ हजार ५०० रुपियाँमा खरिद गरिएको थापामगरले जानकारी दिनुभयो ।
खरिद गरिएका बाली गाउँपालिकाका बिक्री केन्द्रमा राखिएको र अब छिट्टै पैदल मार्गमार्फत सुर्खेत पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला दररेटअनुसार हुम्लामा चिनो र कागुनोको चामल प्रतिकेजी १८५ रुपैयाँमा खरिद गरिन्छ । त्यसैगरी सिमी प्रतिकेजी २०० रुपियाँ, तिते फापर १०५ रुपियाँ, मिठे फापर १२५ रुपियाँ, उवा १३० रुपैयाँ र कोदो १०५ रुपियाँ प्रतिकेजीका दरले खरिद हुँदै आएको छ । यही दररेटअनुसार लिमिटेडले गाउँपालिकाबाट रैथाने बाली खरिद गर्दै आएको हो । हुम्लाबाट सुर्खेत हुँदै काठमाडौँसम्म बालीको ढुवानी लिमिटेडले नै गर्ने गरेको छ ।