लीलाधर वली
घोराही, वैशाख १९ गते । किसानको साथीका रूपमा चिनिने चरा लाटोकोसेरो तथा हुचिलको संरक्षणमा सन्देश फैलाउने उद्देश्यसहित दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।
जैविक विविधता संरक्षण र वातावरणीय सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको उत्सव गरिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको संयुक्त आयोजनामा सुरु भएको १३ औँ संस्करणको दुई दिने लाटोकोसेरो तथा हुलिच उत्सवको लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले शुक्रवार उद्घाटन गर्दै वातावरण संरक्षण बिना वन्यजन्तु तथा चराचुरुङ्गीको अस्तित्व सम्भव नहुने बताउनुभयो ।
लाटोकोसेरो जस्ता महत्वपूर्ण चराको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको भन्दै मन्त्री कलवारले भन्नुभयो, “हामीले वातावरण र वन जोगाउन सके मात्र यस्ता उपयोगी चराहरूको संरक्षण सम्भव हुन्छ । लाटोकोसेरो संरक्षण गर्नु हामी सबैको दायित्व हो ।”
उत्सवस्थलमा तीनवटा अस्थायी संग्रहालय निर्माण गरी लाटोकोसेरोसँग सम्बन्धित विविध दृश्य, चित्र तथा जानकारीमूलक सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । साथै ४० भन्दा बढी स्टलहरूमा चरा, पुतली तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सामग्रीहरू प्रस्तुत राखिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनुभएको छ । लाटोकोसेरो हाम्रो पर्यावरणको अभिन्न अंग भएको भन्दै यसको संरक्षण समुदायबाटै सुरु हुनुपर्ने बताउनुभयो ।
प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यका अनुसार लाटोकोसेरो प्रकृतिको सन्तुलन कायम राख्ने महत्वपूर्ण जीव हो । “लाटोकोसेरो किसानको साँचो साथी हो, यसले खेतबारीमा मुसा नियन्त्रण गरी कृषिमा ठूलो सहयोग पु¥याउँछ”, उहाँले भन्नुभयो, “यसको संरक्षणमा सबैको सहभागिता अनिवार्य छ ।”
उत्सवको पहिलो दिन चरा अवलोकन कार्यक्रम, लाटोकोसेरोसम्बन्धी लघु संग्रहालय, रोबोट प्रदर्शनी तथा स्लाइड र भिडियो प्रस्तुतिहरू आयोजना गरिएको थियो । उत्सवलाई थप आकर्षक बनाउन थारु, मगर, गुरुङ तथा कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिताहरू समेत समावेश गरिएको छ ।
विश्वभर करिब २३० प्रजातिका लाटोकोसेरो पाइने गरेका छन् भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये २४ प्रजातिका पाइने गरेको तथ्यांक छ । जसमध्ये दाङको देउखुरी क्षेत्रमा ११ प्रजातिको लामोकोसेरो पाइने गरेको छ । महोत्सब आज शनिवारसम्म चल्नेछ ।