• १९ वैशाख २०८३, शनिबार

वन डढेलोको प्रभाव : रेसुङ्गा गौशालाका १६० गाई सङ्कटमा

blog

प्रसिद्ध धार्मिकस्थल रेसुङ्गास्थित गौशाला । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १९ गते ।
वन डढेलोका कारण घाँस जलेपछि रेसुङ्गा गौशालाका गाईहरू सङ्कटमा परेका छन् । वैशाखको पहिलो सातादेखि गौशाला क्षेत्रमा लागेको डढेलोले जमिन तथा रुखमा रहेका घाँससमेत नष्ट गरेको छ । जसका कारण गौशालामा रहेका १६० गाईको संरक्षण गर्न कठिन भएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

चरन क्षेत्र पर्याप्त हुँदा गौशालामा दैनिक एक ट्याक्टर घाँसले पुग्ने गरेको थियो । अहिले भने गाईलाई बाँधेर दाना खुवाएर मात्र जोगाउन नसकिने अवस्था आएको रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म सञ्चित घाँस र दानाको भरमा व्यवस्थापन गरिए पनि अब थप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकासँग सहजीकरणको अपिल गरिएको छ ।

वन डढेलोका कारण गौशालामा रहेका गाईहरूको जीवन रक्षाका लागि रेसुङ्गा नगरपालिकाले सहयोगको अपिल गरेको छ । चरन क्षेत्र पूर्ण रूपमा प्रभावित भएको र गौशालामा सञ्चित सुख्खा घाँस तथा दानासमेत अभाव भएपछि गाईबस्तुको जीवनयापनमा गम्भीर समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार घाँस तथा दाना सहयोग गर्न सम्पूर्ण वडा कार्यालय, स्थानीय सङ्घसंस्था र भक्तजनलाई आग्रह गरिएको छ । प्राप्त सहयोग सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरी गौशालासम्म पुर्‍याउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

वि.सं. २०४२ सालमा योगी नरहरिनाथले रेसुङ्गा यज्ञशालामा आयोजना गरेको कोटीहोमबाट सङ्कलन भएका २६ वटा गाईका बाच्छाबाट गौशाला सुरु गरिएको थियो । हाल गौशालामा लक्ष्मी जातका १६० गाई रहेका छन् । केही समयअघि गौशालाबाट गोमूत्र सङ्कलन, प्रशोधन तथा बजारीकरणको कामसमेत सुरु गरिएको थियो ।