• २३ फागुन २०८२, शनिबार

नामको अर्थ र अस्तित्व

blog

विलियम सेक्सपियरले आफ्नो विश्वप्रसिद्ध नाटक ‘रोमियो एन्ड जुलियट’ को एक संवादमा भनेका छन्, ‘ह्वाट्स इन अ नेम ?” अर्थात् ‘नाममा के राखिएको छ ?’ उनका अनुसार गुलाफलाई जुनसुकै नाम दिए पनि त्यसको सुगन्ध उस्तै रहन्छ । वस्तुको नाम फेरिँदैमा त्यसको गुण मेटिँदैन । यो भनाइ आफ्नो ठाउँमा सत्य छ तर मानव जीवनको सन्दर्भमा नाम केवल शब्द मात्र हो त ? नाम वास्तवमै के हो– एउटा ध्वनि ? केही अक्षरका संयोजन ? कि समाजले हामीलाई बाँध्न प्रयोग गरेको पहिलो सूत्र ? यो प्रश्नले गहिरो सोच्न बाध्य बनाउँछ ।

वस्तु र व्यक्तिमा भिन्नता यहीँनिर देखिन्छ । वस्तुलाई कुनै पनि नाम दिँदा त्यसले आपत्ति जनाउँदैन, प्रतिकार गर्दैन तर सचेत मानिसलाई उसको आफ्नै नाम प्रिय हुन्छ । गलत नामबाट बोलाइनु अपमानजनक मात्र होइन, उसमा आक्रोश जन्माउने कारण पनि हुन सक्छ । थाहा पाएदेखि सँगै हुर्किएको वास्तविक नामको सट्टा अर्को नामले सम्बोधन गर्दा ऊ फर्केर हेर्दैन किनकि त्यो अपरिचित नामसँग उसको कुनै सम्बन्ध हुँदैन ।

मानिस जन्मिँदा नामविहीन हुन्छ । नामकरणपछि समाजले उसलाई त्यही नाममार्फत स्विकार्छ । ऊ केवल व्यक्ति मात्र हुँदैन, परिचय बन्छ । नाम उसको आत्माको ऐना होइन तर व्यक्तित्वलाई प्रतिनिधित्व गर्ने माध्यम भने पक्कै हो । नाम समाजले उसलाई नियाल्ने पहिलो झ्याल हो; जहाँबाट ऊ देखिनुअघि नै चिनिन थाल्छ । पुस्तकको आकर्षक कलेवर जस्तै नाम पनि व्यक्तित्वमाथिको पहिलो आवरण हो; जसले भित्रका पानाहरू पल्टिनुअघि नै पाठकलाई आकर्षित गर्छ ।

हामीले याद गरेका हुन्छौँ, नामहरूको सूचीमा कुनै विशेष नाम वा पुस्तकको कुनै अनौठो शीर्षकले अनायासै ध्यान तान्छ । सायद यही हो, नामको शक्ति जसले आफूतिर खिच्छ ।

नाममा परिवारको चाहना, संस्कार, विश्वास, कहिलेकाहीँ इतिहास र स्मृतिसमेत गाँसिएका हुन्छन् । त्यसैले अभिभावकले नाम राख्दा अर्थ खोज्छन्, शुभकामना जोड्छन् र भविष्यप्रतिको अपेक्षा समेट्छन् । नाम बोलाउँदा सुन्नेलाई मात्र होइन, बोलाउनेलाई पनि सकारात्मक वा ईश्वरीय भावना जागोस् भनेर पहिले देवीदेवताका नाम राखिन्थे । समयसँगै यस्ता नाम परिवर्तन हुँदै आएका छन् । यद्यपि सधैँ नामको अर्थ स्पष्ट नै हुन्छ भन्ने छैन । कतिपय नाम संयोग, प्रभाव वा तत्कालीन भावनाबाट पनि राखिएका हुन्छन् तर अर्थ नभए जस्तो देखिने नाममा पनि अपनत्वको अर्थ भने हुन्छ ।

नाम कुनै पनि कुराको पहिचानसँग गहिरो रूपमा जोडिएको हुन्छ । बजारमा हामी स्याउ देखाएर सुन्तला माग्दैनौँ । एक जनाले स्याउलाई सुन्तला माने पनि स्याउले जनमानसमा बनाइसकेको पहिचान सजिलै मेटिँदैन ।

समाजले मानिसलाई पहिले नामकै माध्यमबाट चिन्छ, बोलाउँछ र मूल्याङ्कन गर्छ । त्यसैले कसैको नाम बिगार्नु, 

‘नामको अर्थ नभएको’ भन्दै हिज्जे सच्याइदिने नाममा हस्तक्षेप गर्नु वा टिप्पणी गर्नु सामान्य लाग्ने तर संवेदनशील कुरा हुन् । यो व्यक्तिको अस्तित्व र आत्मसम्मानमाथिको हस्तक्षेप पनि हो । 

धेरैअघि प्रशिक्षणका क्रममा मैले एक जना प्रशिक्षार्थीलाई सोधेकी थिएँ, “पकजी, आफ्नो बुझाइ स्पष्ट गर्न सक्नुहुन्छ ?”

प्रश्न दोहो¥याउँदा पनि कसैको प्रतिक्रिया नआएपछि मैले व्यक्तिलाई इङ्गित गर्दै सोधेँ । तब कारण स्पष्ट भयो– उनको ज्याकेटले नामको पहिलो अक्षर ‘दी’ छोपिएको रहेछ । दीपकलाई ‘पक’ नामले सम्बोधन गर्दा प्रतिक्रिया नआउनु स्वाभाविक नै थियो । कुनै चलचित्र, उपन्यासको नायक वा प्रसिद्ध व्यक्तिको नाम आफ्नोसँग मिल्दा कताकता गर्व महसुस हुन्छ तर त्यही नाम कुनै खलपात्रसँग जोडिन गए नमिठो अनुभूति हुन्छ, चाहे त्यस कृत्यमा आफ्नो कुनै संलग्नता नहोस् ।

प्रकाशित रचनाहरूमा कहिलेकाहीँ मेरो नामको हिज्जेमा ‘शु’ को सट्टा ‘सु’ बनाइएको देख्छु । सोध्दा उत्तर आउँछ, “तपाईंको नामको हिज्जे गलत थियो”, “त्यो नाम भएको शब्दको कुनै अर्थ नै छैन ।”

मन चस्स गर्छ । आत्मसम्मानमा लागेको ठेस आवाजविहीन पीडामा स्तब्ध हुन्छ । पढ्दा पनि त्यो नाम बिरानो लाग्छ– झरीमा बाक्लो बर्सादी ओढेर बसे झैँ छुँदैन, भिजाउँदैन । शब्द सच्याउने क्रममा नाम बिगारिएको मेरो पहिचानभित्र म कहाँ समेटिन्छु ? सायद मेरो प्रत्युत्तर मात्र पर्याप्त नहोला । नामको हिज्जे नमिलेर शब्दकोषले अर्थ नदिँदैमा, त्यसले बोकेको भावना र लगाव हराउँदैन । अक्षरहरू मेटिए पनि अपनत्व मेटिँदैन; किनकि नामको अर्थ कागजमा होइन, हृदयको स्मृतिमा बस्छ । अरूका लागि त्यो शब्द मात्र हुन सक्छ तर मेरो अस्तित्वसँग गाँसिएको त्यो नाम म स्वयम् हुँ– मेरो वास्तविकता हो । 

कतिपय नाम खोज्दा निःसन्देह शब्दकोष मौन रहन्छ । न निश्चित अर्थ भेटिन्छ, न त स्पष्ट व्याख्या । सायद त्यसैले ती नाम निरर्थक जस्ता लाग्छन् तर शब्दकोष भाषा बुझ्न प्रयोग हुन्छ, जीवन बुझ्न होइन । जीवनका धेरै सत्य शब्दभन्दा बाहिर हुन्छन् । शब्दकोषको मौनताले कुनै पनि नाम अस्तित्वहीन हुँदैन । नामहरू सधैँ शब्दकोषबाट जन्मिँदैनन्– उच्चारण, भावना, समय र सम्बन्धबाट पनि जन्मिन्छन् । शब्दकोषमा नपाइएको नाम पनि समाजमा बाँच्दछ, बोलिन्छ, चिनिन्छ र अन्ततः अर्थ बन्छ ।

कतिपय अवस्थामा गलत बुझाइ वा हचुवाका आधारमा राखिएको नाम नै जीवनभर व्यक्तिको परिचय बनिदिन्छ । त्यसलाई परिवर्तन गर्नु सजिलो हुँदैन । कानुनी प्रक्रिया, सामाजिक स्वीकृति र सबैभन्दा महत्वपूर्ण– व्यक्ति स्वयम्को चाहना आवश्यक पर्छ । उसको इच्छा र अनुमतिबिना नाम परिवर्तन गर्नु कसैको प्रिय कुरा अनधिकृत रूपमा खोस्नु जस्तै होइन र ? नामजति व्यक्तिगत कुरा सायद अरू केही हुँदैन होला ।

सेक्सपियरले भने झैँ गुलाफ नामले होइन, सुगन्धले चिनिन्छ । तर मानिस गुलाफ होइन । ऊ समाजभित्र बाँच्छ, जहाँ सुगन्धभन्दा पहिले नाम सोधिन्छ । समाजले उसलाई पहिले नामले हेर्छ, त्यसपछि मात्र कर्मले । यद्यपि, नामलाई अमर बनाउने वा ओझेलमा पार्ने काम मानिसकै कर्मले गर्छ ।

नाम सही रूपमा लिनु पनि व्यक्तिलाई सम्मान गर्नु हो । कसैको नाममा व्याकरणीय त्रुटि गर्नु, वा स्वरूप परिवर्तन गर्नु केवल संवेदनामा आघात पु¥याउनु मात्र होइन; यसले समाजको संस्कार र चेतनाको स्तर पनि उजागर गर्छ ।

“नाममा के राखिएको छ र ?” भन्नुभन्दा “नाममा धेरै कुरा छन्” भन्नु बढी यथार्थपरक देखिन्छ । 

हो, नाम नै सबै थोक होइन तर जीवनले आफूलाई समाजसँग चिनाउने यो महत्वपूर्ण सेतु होइन र ?