• १४ वैशाख २०८१, शुक्रबार

आगामी विश्वकपमा ४८ टिमको चर्चा

blog

दोहा, मङ्सिर २२ गते। कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ।

यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्। 

यस विश्वकपमा साउदी अरबले लियोनेल मेसीको अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्यो। सो नतिजालाई पछ्याउँदै जापानले पूर्वविजेताहरू जर्मन र स्पेनलाई स्तब्ध बनायो। मोरक्कोले स्टार खेलाडीहरूले भरिभराउ बेल्जियम र स्पेनलाई विश्वकपबाट बिदा गरेर अप्रत्याशित रूपमा क्वाटरफाइनलमा स्थान बनायो। ट्युनिसियाले पनि विश्वविजेता फ्रान्सलाई १–० ले हरायो। दक्षिण कोरियाले पोर्चुगललाई हराएर अन्तिम १६ मा स्थान बनायो। क्यामरुनले घर फर्कनुअघि ब्राजिललाई हराएर समर्थकलाई खुसी पा-यो। 

तर यस विश्वकपमा कतार समूह चरणमा तीन खेल हार्ने पहिलो आयोजक बन्यो भने केही एकपक्षीय नतिजा पनि निस्किए। स्पेनको कोस्टारिकाविरुद्ध ७–० को जित, इङ्ग्ल्यान्डको इरानमाथि ६–२ को जित तर फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हराएको नतिजाले पनि अमेरिका, मेक्सिको र क्यानडामा सन् २०२६ मा हुने विश्वकपमा ४८ टिम हुँदा अझ बढी एकपक्षीय नतिजा नआउने त होइन भन्ने शङ्काचाहिँ कायम छ। 

फिफा ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख आर्सने वेन्गरले पनि ४८ टिमको विश्वकपलाई सफल बनाउन आफूहरूसँग १६ राम्रा टिम छान्ने चुनौती छ भन्नुभयो। तर उहाँ विश्वकपमा देशहरू थपिँदा फुटबलको लोकप्रियता अझ वृद्धि हुने बताउनुहुन्छ। आगामी विश्वकपमा सबै महादेशबाट टिम थपिनेछन्। सन् २०१७ मा फिफाले ४८ टिमको विश्वकप खेलाउने निर्णय गरेको हो। फिफाको यस निर्णयलाई अहिलेसम्म पनि शङ्काको दृष्टिले हेरिँदै छ।

विश्वकपमा प्रायः युरोप र दक्षिण अमेरिका नै हाबी हुने गर्छन्। युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन्। युरोपले १२ र दक्षिण अमेरिकी टिमले नौ पटक विश्वकप जितेका छन्। अहिलेसम्म विश्वकपमा भएका ८४ सेमिफाइनलिस्टमा युरोप र दक्षिण अमेरिकाबाहेक दुई देश मात्र छन्। सन् १९३० मा अमेरिका र सन् २००२ मा दक्षिण कोरिया विश्वकपको सेमिफाइनलमा पुगेका थिए।

तर यस पटक नकआउटमा एसियाका तीन राष्ट्र पुगे। अफ्रिकी टिमहरूले समूह चरणमा विगतमा भन्दा राम्रो अङ्क बटुले। जापान र मोरक्को त आआफ्नो समूह विजेता नै बने। मोरक्को अन्तिम आठमा पनि पुगिसकेको छ। सेनेगलका प्रशिक्षक आलियु सिजेले ३० वर्षअघिको जस्तो ठूलो माछाले सानो माछालाई खाने फुटबल अहिले रहेन भनी प्रशिक्षण दिनुभएको छ। घानाका प्रशिक्षक ओटो आडोले पनि अफ्रिका अझ बढी विश्वकपमा स्थान पाउन हकदार छ भन्नुभयो।

फिफाले आगामी संस्करणदेखि ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ। विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ। रुसमा भएको पछिल्लो विश्वकप साढे तीन अर्बले हेरेका थिए; जुन विश्वको कुल जनसङ्ख्याको अधाभन्दा बढी हुन आउँछ। त्यस बेला फिफाले व्यावसायिक सम्झौताबाट मात्र साढे सात अर्ब डलर आम्दानी गरेको थियो; जुन अहिलेसम्मकै कीर्तिमान हो। त्यसैले अझ धेरै देशमा दर्शक बढेपछि फिफाको आम्दानी पनि बढ्ने पक्का छ। एपी