• २४ वैशाख २०८१, सोमबार

बागमतीमा आर्थिक मामिला मन्त्रालयले माग्यो बजेटसम्बन्धी सुझाव

blog

हेटौँडामा रहेको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय। तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, वैशाख १४ गते। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी थालेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीको क्रममा विज्ञलगायत सरोकारवालासँग छलफल गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सर्वसाधारणसँगै आगामी बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

मन्त्रालयले बागमती प्रदेश सरकारको आगामी बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य सुरु भइसकेको भन्दै आगामी बजेट तथा कार्यक्रममा समावेश गर्नु उपयुक्त हुने विषयका बारेमा यही वैशाख महिनाभित्रमा सुझाव मन्त्रालयमा उपलब्ध गराइदिन भनेको छ। 

सङ्घसंस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीलगायत आम नागरिकसँग मन्त्रालयले यस्तो आग्रह गरेको हो। 

मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तर्जुमाका लागि कर, राजस्वलगायतका नीतिगत व्यवस्थाका बारेमा सुझाव सार्वजनिक रुपमा माग गरेको हो।

समितिले घर जग्गालगायतका रजिष्ट्रेसन शुल्क, सेवा शुल्क रोक्का दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, प्राकृतिक स्रोत तथा दहत्तर बृहत्तर शुल्क एवं रोयल्टी, सेवा शुल्क, दस्तुर र दण्ड जरिवानालगायतका क्षेत्रमा निर्धारण गरिने करका दरहरु, कर छुट सुविधाका सम्बन्ध सुझाव माग गरेको हो। 

मन्त्रालयले कराधार, करका दर, कर छुट सुविधाका सम्बन्धमा नीतिगत, संरचनागत र प्रक्रियागत सुधारको साथै गैरकर तथा राजस्व चुहावट नियन्त्रणका उपायको सम्बन्धमा यही वैशाख २५ गतेभित्र सुझाव उपलब्ध गराइदिन सार्वजनिक रुपमा आग्रह गरेको छ।