• २४ वैशाख २०८१, सोमबार

ताप्लेजुङमा ५१ वटा नयाँ उद्योग दर्ता

blog

ताप्लेजुङस्थित घरेलु तथा साना उद्योग कार्यालय।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १४ गते। ताप्लेजुङमा पछिल्लो नौ महिनाको अवधिमा एकाउन्न वटा नयाँ उद्योग दर्ता भएका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा विभिन्न उद्देश्यका उक्त सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन्।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार नयाँ थप अर्थात दर्ता भएकासमेत उद्योगको सङ्ख्या कुल दुई हजार १८२ पुगेको छ। चालू आवको साउनदेखि चैत मसान्तसम्ममा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भएका घरेलु कार्यालयले जनाएको छ। 

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार कृषि तथा वन पैदावारसम्बन्धी २८ वटा नयाँ उद्योग दर्ता भएका छन्। त्यसपछि पूर्वाधारका नौ वटा, पर्यटन र सेवामुलक पाँच–पाँचवटा र उत्पादनमूलक चारवटा उद्योग दर्ता भएको भट्टराईले जानकारी दिनुभयो।

त्यस्तै चालू आवको चैत मसान्तसम्म ९१ वटा उद्योगको नवीकरण भएकोे छ। 

सात वटा उद्योगको नामसारी, दुईको ठाउँसारी, चार उद्योगको पुँजी वृद्धि र चारवटा उद्योगको नाम परिवर्तन भएको पनि घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। वाणिज्य प्रशासनतर्फका २५ वटा उद्योग (फर्म) दर्ता र ४६ वटा फर्मको नवीकरण भएको कार्यालयले जानकारी दिएको छ।