• १२ असार २०८२, बिहिबार

हुलाकी राजमार्ग निर्माणमा अलमल

blog

हुलाकी राजमार्ग अन्तर्गत कटहरी गाउँपालिका क्षेत्रको स्थिति । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, असार १२ गते  । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडक निर्माण तथा विस्तारमा अलमल गर्दै वर्ष थपिँदै छन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिन थालेका छन् । 

विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको राम चोकसम्म छ किलोटिमर सडक बर्सातसँगै हिलोमा गिजोलिन्छ । मङ्सिरदेखि जेठभर धुलाम्मे हुने सडक बर्सातसँगै हिलोमा परिणत हुन थालेको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार ठेकेदार नै जबर हुँदा यसको निर्माणले गति लिन नसकेको हो । अर्को पक्ष भनेको राष्ट्रिय गौरवको आयोजनामा स्रोतको अभाव देखाउँदै सम्बन्धित कार्यालय ठेकेदारप्रति नरम हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको अध्यक्ष चौधरीको बुझाइ छ । 

मोरङको ४४ किलोमिटर दुरीमध्ये हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि जिम्मेवार छ तर यसको पाँच वर्षसम्मको प्रगति भने २२ प्रतिशत मात्रै रहेको छ । 

पुरानो कालोपत्रे सडकको दायाँबायाँ विस्तारसँगै भत्काइएको छ । सडकको दायाँबायाँ माटोले पुरिएको भागमा सवारी गुडाउन जोखिम छ । सडक विस्तारपछि विद्युत्का पोल बिच भागमा ठिङ्ग छन् । जताततै लत्रिएको तारले कुन बेला दुर्घटना हुन्छ भन्ने त्रास सदैव रहन्छ । ठेकेदारले भद्रगोल अवस्थामा सडक छाडेको भन्दै बारम्बार स्थानीय तहले कुरा उठाउँदै आएको छ तर सम्झौता गरेका मुख्य ठेकेदार सम्पर्कमा कहिल्यै आउने गरेका छैनन् । 

२०७६ सालमा दुई वर्षभित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले छ किलोमिटर छिचोल्न विभिन्न पेटी ठेक्का लगाउँदै आएको छ । अहिले दुवैतर्फ साइड ड्रेन निर्माण भएको छ । पेटी ठेकेदारसमेत बारम्बार परिवर्तन हुने गरेका छन् । केही समयअगाडिसम्म भूपाल श्रेष्ठमार्फत निर्माण भइरहेकोमा अहिले अभिषेक गिरीमार्फत काम लगाउने गरिएको छ । 

यतिसम्म कि ठेकेदारकै जिम्मेवारीमा रहेको विद्युत्का पोलसमेत पाँच वर्षसम्म प्राधिकरणलाई देखाएर सारिएको छैन तर सडक ठेक्का व्यवस्थापन गर्दा नै पोल स्थान्तरणका लागि रकम सुनिश्चित गरिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले सम्झौता अनुसार ठेकेदारले काम नगरेरै हैरान पारेको हो । उहाँले काम नभएपछि भुक्तानी दिन पनि ढिलो हुँदै आएको र पछिल्लो समय भुक्तानीमा पनि समस्या हुन थालेको बताउनुभयो । 

ठेक्का २०७६ साल कात्तिकमा सम्झौता भए पनि विद्युत्को पोल अहिलेसम्म सारिएको छैन । योजना प्रमुख पोखरेलका अनुसार अहिले भर्खरै मात्रै विद्युत् प्राधिकरणले तीन करोड ६६ लाख रुपियाँको लागत अनुमान दिएको छ । सडक ठेक्का लगाउने समयमा दुई करोड ५० लाख रुपियाँ विद्युत्का पोल तथा खानेपानी पाइपका लागि रकम व्यवस्थापन भएको थियो तर पाँच वर्षसम्म उक्त रकमबाट काम नहुँदा अहिले एक करोड रुपियाँभन्दा बढी लागत बढ्न गएको छ । पोल सार्ने काम निर्माणको जिम्मा लिने ठेकेदारले आफैँ वा प्राधिकरणमार्फत गराउनुपर्ने हुन्छ । यदि ठेकेदार आफैँले पोल सार्न चाहेमा प्राधिकरणसँगको समन्वय र लाग्ने महसुल बुझाउनुपर्ने हुन्छ तर समयमै काम नगर्दा छ किलोमिटर दुरी सडकसँगै विद्युत्का पोलले अझै भद्रगोलमा रूपान्तरण गरिदिएको छ । 

यसबाहेक मोरङमा निर्माण हुनुपर्ने ४४ किलोमिटर दुरीमध्ये धनपालथानको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको १२ किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । त्यसपछि रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका क्षेत्रका सडकखण्डको काम सकिएको पोखरेलले जानकारी दिनुभयो । विराटनगर बरगाछीदेखि केसलियाखोलासम्म साढे तीन किलोटिमर सडक पनि कालोपत्रे भएको छ । 

मुख्य राजमार्गबाहेक सहायक मार्गका रूपमा विस्तार हुनुपर्ने मोरङको पथरीदेखि रङ्गेलीसम्मको २५ किलोमिटर सहायक मार्गको काम पनि सुस्त नै रहेको छ । निर्माणको ठेक्का दुई वटा प्याकेजमा कान्छाराम कन्स्ट्रक्सनले लिएको थियो । यो खण्डको ठेक्का पनि २०७६ साल कात्तिकमा भएको थियो । हालसम्म २२ प्रतिशत मात्रै प्रगति भएको उल्लेख छ ।