रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ गते । लामो सयमसम्म पानी नपरेपछि गुल्मीमा भुमे देवता पूजा गरिएको छ । यस जिल्लाको सुदुरपश्चिम ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका-१, अग्लुङ्गका स्थानीयले निपानेस्थित झाताबाङ्गका भुमे देवताको पूजा गरेका छन् ।
लामो समयसम्म पानी नपरेर खेतबारीमा लगाइएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भुमे पूजा गरेर पानी माग गरेका छन् । परापूर्वक कालदेखि नै झाताबाङ्गका भुमे देवताको पूजा गर्दा पानी पर्ने गरेको किम्बदन्ती रहेको छ । विगतमा जस्तै यसवर्ष पनि यहाँ पूजाआजा गरेर पानी मागिएको छ ।
लामो समयसम्म पानी नपर्दा स्थानीयहरुले भुमे पूजा गरेसंगै पानी पर्ने गरेको हुँदा अग्लुङ्गमा देवताप्रति निकै विश्वास गरेर पुजा गर्ने प्रचलन छ । यहाँको मुख्य केन्द्रविन्दु गाँब र झाताबाङ्ग गरी दुई स्थानमा भुमेथान रहेको स्थानीय समाजसेवी अग्निधर चन्द बोहोराले बताउनुभयो ।
झाताबाङ्गमा रहेको भुमेथानमा प्रत्येक वर्ष वैशाख महिनाको दोस्रो मङ्गलबार पूजा गर्ने प्रचलन छ । यस भुमेथानमा पूजाआजा गर्दा शुरुमा गाउँको तर्फबाट एउटा बलि पाठो दिने चलन छ । त्यसपछि बलि दिने गरिन्छ । विशेषगरी यस पटक बलि दिनुको मुख्य कारण लामो समयसम्म खडेरी परेकोले पानी माग्नु हो । बलि दिएमा पानी पर्ने जनविश्वास रहेको छ ।
परापूर्वक कालदेखि नै लामो समय पानी नपरी खडेरी हुँदा यहाँका भुमे देवतालाई पूजा गर्दा पानी परेको र पूजा गरेपछि पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको स्थानीयले बताएका छन्। यस भुमेथानमा अन्य समयमा पनि बलि दिएर पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । परापूर्वक कालमा भएका कुराहरु अहिले यथावत हुने हुँदा यहाँका स्थानीयहरु देवि देवता, पितृ सबै पूजाआजा गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।