• १४ वैशाख २०८१, शुक्रबार

मुख्यसचिव सहितको सुरक्षा टोली कर्णालीमा

blog

निर्वाचन तयारी र सुरक्षा अनुगमन गर्न मुख्यसचिव वैरागीसहितको टोली जुम्लामा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, कात्तिक २७ गते । निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शंकरदास वैरागीसहितको सचिवस्तरको टोली कर्णाली आइपुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न उहाँहरूको टोली कर्णाली आएको हो ।

मुख्यसचिव वैरागी, गृह सचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत जुम्ला पुगेको हो ।   

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफलका लागि यहाँ आएको छ । छलफलपछि उहाँहरूले सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको केसरीले बताउनुभयो । 

उहाँका अनुसार सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णाली ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी गराउनुभयो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी गराउनुभयो । नेपाल सरकारको सो उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन सफल बनाउने भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखहरू समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । 

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्यसचिव सहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै मुगु पुग्ने तालिका रहेको छ । सोमवार सो टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम पुग्ने बताइएको छ ।