• २४ वैशाख २०८१, सोमबार

रारामा बढे पर्यटक

blog

हरिकृष्ण ऐडी

मुगु, वैशाख १४ गते । रारा ताल घुम्ने मौसम सुरु भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेका छ । अरू मौसमभन्दा चैतदेखि असारसम्मको समयमा रारा ताल क्षेत्र घुम्न उपयुक्त मानिन्छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारामा चैतदेखि असारसम्म उपयुक्त मौसम भएकाले यो समयमा पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । कार्यालयका प्रमुख राजु घिमिरेले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आठ हजार ५२५ जना आन्तरिक  र  विदेशी पर्यटकले रारा घुमेको बताउनुभयो । 

बुटवलबाट राराताल अवलोकन गर्न आएका रामहरि खनालले यो समयमा राराको मौसम नै अनौठो र रोमाञ्चक पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलिँदो रहेछ । पानी कहिले निलो बन्छ, कहिले कालो, कहिले सेतो । रङसँगै पानीको रङ फेरिँदो रहेछ ।” आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएको बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भई अलौकिक आनन्द प्राप्त हुने गरेको उहाँले सुनाउनुभयो । 

राराको प्राकृतिक सौन्दर्य अनुसार यसको प्रचारप्रसार हुन नसक्दा यहाँको पर्यटन व्यवसाय अपेक्षाकृत फस्टाउन सकेको छैन । समाजसेवी रूपबहादुर मल्ल राराको पर्यटन प्रवर्धनमा तीन तहको सरकारले प्राथमिकतामा नपारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नियमित हवाई उडान, भरपर्दो सडकमार्ग र प्रतिस्पर्धी होटल व्यवसायलगायतका पर्यटन व्यवसायका लागि चाहिने अति आवश्यक पूर्वाधार बन्न सकेका छैनन् । त्यसैले यहाँको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । यो ठाउँ त संसारकै उत्कृष्ट योग र ध्यान केन्द्र बन्न सक्छ ।” 

पर्यटन व्यवसायी दुर्गा रावलले जुम्लाबाट रारा हुँदै खप्तड, डोल्पासम्म पुग्ने पदमार्गमा पूर्वाधार विकास गर्न सके लामो पदयात्रा गर्न चाहने पर्यटक खुब रमाउन सक्ने बताउनुभयो । 

स्थानीयवासी बिर्ख रोकाया यस जिल्लाका जनप्रतिनिधिले राराको विकासमा प्रयास नगरेको आरोप लगाउनुहुन्छ । यद्यपि छायानाथ रारा नगरपालिकाले राराको पर्यटन प्रवर्धन विकासका लागि विभिन्न रणनीतिका कार्यक्रमको तयारीमा जुटेको दाबी गरेको छ । नगर प्रमुख विष्णुकुमार भामका अनुसार निकट भविष्यमा यहाँका युवालाई रोजगारीमा टेवा पुग्ने उद्देश्यले होटल व्यवसाय, पर्यटक प्रदर्शक र पर्यटन व्यवसायसम्बन्धी तालिम दिने कार्ययोजना बनाइएको छ ।

यसरी आउन सकिन्छ रारा

रारा ताल समुद्री सतहबाट दुई हजार ८८० मिटरको उचाइमा छ । १६७ मिटर गहिरो, ५.१ किमी लम्बाइ र २.७ किमी चौडाइमा ताल फैलिएको छ । ताल किनारको लम्बाइ १४.६ किमी छ । हिँडेर तालको फन्को मार्न सात घण्टा लाग्छ । रारामा साइक्लिङ गर्न सकिन्छ । घोडामा घुम्न मिल्छ । रारामा पौडी खेल्न पाइन्न, नुहाउन पाइन्न तर तालमा स्वच्छ र सफा पानी भएकाले पिउन मिल्छ ।

ताल क्षेत्रमा रारा महादेव, छाब्रु महादेव, लगुडा मन्दिर आदि तीर्थस्थल पर्छन् । तालको पूर्वतिर छायानाथ हिमाल पर्छ । छायानाथसँगै ऋणिमोक्ष चुली र छायानाथ हिमालमा वर्षैभरि हिउँ जमेको सेताम्मे हिमाल देख्न पाइन्छ । रारा ताल घुम्न आउन स्थलमार्ग सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै रारासम्म दुई दिनमा आइपुगिन्छ । हवाई मार्ग नेपालगन्जको राँझा विमानस्थलबाट ताल्चा विमानस्थलसम्म ३५ मिनेटमा पुगिन्छ ।