• २३ वैशाख २०८१, आइतबार

भोकमरी हुनेमा किसान चिन्तित

blog

कालीकोट समाचारदाता

कालीकोट, वैशाख १४ गते । जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेका छन् । जिल्लामा बाँदरको बिगबिगी बढ्दै गएपछि खडेरीबाट बचेको गहुँ बाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । 

किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि भोकमरी पर्न सक्ने भन्दै किसानको चिन्ता बढेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा खडेरीबाट बल्लतल्ल जोगाएको गहुँ बाली बाँदरको मुखमा पर्न थालेको छ । सधैँ जसो खाद्य सङ्कट पर्ने यो जिल्लामा यस पटक झन् खाद्य सङ्कट आउने स्थानीय सरकारले अनुमान गरेको छ । महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले खेतबारीमा फलेको अन्नबाली किसानले भित्र्याउन नपाउँदै बाँदरले खाएपछि चिन्ता थपिएको बताउनुभयो । गहुँ, तरकारी, फलफूललगायतका बालीनाली बाँदरले नष्ट गर्न थालेपछि आफ्नो गाउँपालिकाभित्रको राम्नी कोटबाडा, औलगेला, गणेशकोटलगायत अधिकांश ठाउँमा जमिन बाँझै रहेको बताउनुभयो ।  

खाँडाचक्र नगरपालिका–५ का सदानन्द तिमिल्सेनाले पनि आफूहरूले बाँदर आतङ्क झेल्दै आएको गुनासो गर्नुभयो । “खाना पकाएर अन्य कामका लागि बाहिर गएका बेला बाँदरले घरभित्र पसेर खानसमेत दिँदैनन्,” तिमिल्सेनाले भन्नुभयो, “अन्नबाली त्यसै गरी नष्ट गरिदिन्छन् । अचेल  बाँदर धपाउँदै दिन बित्छ ।”जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले जति दुःख दिए पनि बाँदरलाई मार्न वा क्षति पुर्‍याउन नपाइने बताउनुभयो । 

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको भन्दै उहाँले स्थानीय सरकारले बाँदर धपाउने यन्त्र प्रयोग गरेमा किसानलाई राहत हुन सक्ने सुझाव दिनुभयो । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि गुनासो बढेको कार्यालय प्रमुख बस्नेतको भनाइ छ । कृषकले बाँदरको व्यवस्थापन एवं क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सक्ने अवस्था छैन ।