• १४ वैशाख २०८१, शुक्रबार

हरित हाइड्रोजनमा सहकार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । नेपालमा हरित हाइड्रोजन उत्पादन प्रवद्र्धनमा नेपाल विद्युत् प्राधिकरणले औपचारिक प्रयास आरम्भ गरेको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय (केयू)ले हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने समझदारी गरेका छन् ।

समझदारीपत्रमा केयूका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको छ । यो समझदारीले हरित हाइड्रोजन प्रविधि प्रवद्र्धन गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गर्ने उल्लेख छ । 

ग्रिन हाइड्रोजन ल्याब केयूका प्रमुख सहप्राध्यापक विराजसिंह थापाका अनुसार प्राधिकरण र विश्वविद्यालय हरित हाइड्रोजन प्रविधिको नमुना परियोजनास्तरमा अनुसन्धान गर्न, हाइड्रोजन प्रविधिको प्रयोग, ऊर्जा भण्डारणका साथै जलविद्युत्को उचित सदुपयोग गर्न क्षमता विकास गर्नेजस्ता विषयमा सहकार्य हुनेछ । यसमा नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगसम्बन्धी स्नातकोत्तर तह र विद्यावारिधि तहका अध्ययन कार्यक्रमसमेत हुनेछ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व हरित ऊर्जातर्फ उन्मुख रहेको र नेपालले पनि त्यसलाई समयानुकूल अनुकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालले पनि त्यसलाई अगाडि बढाउनुपर्छ । हरित हाइड्रोजन नेपालका लागि उपयुक्त माध्यम हुन सक्छ भन्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले नेपालमा जलविद्युत्को अधिकतम उपयोग गर्न शैक्षिक क्षेत्रले कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा आफूहरू गम्भीर रहेको बताउनुभयो ।