• २३ वैशाख २०८१, आइतबार

ब्यान्डविथको भुक्तानी सहजीकरण गरिदिन आग्रह

blog

काठमाडौँ, वैशाख १४ गते । इन्टरनेट सेवाप्रदायकहरूले इन्टरनेट ब्यान्डविथ आयातबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटहीका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) ले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै विगत एक वर्षदेखि नै यस्तो भुक्तानी रोकिएकाले तत्काल सहजीकरण गरिदिन सरकारसम्म आग्रह गरेको हो । 

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले विदेशी मुद्रा सटहीको सिफारिस नभए इन्टरनेटको गुणस्तरको जिम्मेवार सेवाप्रदायक नहुने र नेपालमा कुनै पनि समय इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने बताउनुभयो । “भारतीय अपस्ट्रिम सेवाप्रदायक (ब्यान्डविथ विक्रेता) ले पत्र नै लेखेर ब्यान्डविथको रकम भुक्तानी नभए इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएका छन्,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सरकारले ब्यान्डविथबापतको रकम सटहीका लागि सहजीकरण नगरिदिए इन्टरनेटजस्तो अत्यावश्यक सेवा नै बन्द हुन सक्छ ।”

आइस्पानका अनुसार नेपालका नेटवर्क सेवाप्रदायकले भारतीय अपस्ट्रिम सेवाप्रदायकलाई करिब तीन अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये एयरटेलको मात्र ७० प्रतिशत भुक्तानी हुन बाँकी रहेको संस्थाका पूर्वअध्यक्ष विनय बोहराले जानकारी दिनुभयो ।

नेपालले एयरटेल, टाटा र भारती एयरटेल्सबाट मुख्य रूपमा ब्यान्डविथ खरिद गर्ने गर्छ । ब्यान्डविथ आयातका लागि नेटवर्क सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट विदेशी मुद्रा सटहीका लागि सिफारिस गर्नुपर्ने हुन्छ । उक्त सिफारिसका आधारमा मात्रै नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटही सुविधा प्रदान गर्दछ । इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को शुल्क बक्यौता रहेकाले उक्त बक्यौता फस्र्योट गरेपछि मात्र सिफारिस गर्न सकिने नियामक प्राधिकरणले सेवाप्रदायकलाई जानकारी गराएको छ । 

सेवाप्रदायकहरू भने मर्मतसम्भारबापतको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर नलाग्ने भन्दै त्यस्तो रकम भुक्तानी गर्न नसकिने बताउँदै आएका छन् । संसद्को सार्वजनिक लेखा समितिले मर्मतसम्भार दूरसञ्चार सेवा नभएकाले उक्त शीर्षकमा रोयल्टी र आरटिडिएफ नलाग्ने निर्णय गरेकाले बक्यौता नरहेको आइस्पानको जिकिर छ ।