• १५ जेठ २०८१, मङ्गलबार

गुल्मीमा पालिका प्रमुखले लिए शपथ

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ ६ गते ।
जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनुभएका पालिका प्रमुखहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले दुई जना नगरप्रमुख र दश जना गाउँपालिका अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पालिका प्रमुखहरुले शुक्रबार नै कार्यभार समाल्नु भएको छ ।

नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई नगरप्रमुख र गाउँपालिका अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुनेछ ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुख खिलध्वज पन्थी, मुसिकोट नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट जीवलाल खरेल जीवन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट वेदबहादुर थापा, सत्यवती गाउँपालिकामा नेकपा (एमाले) कातर्फबाट टीकाराम पाण्डे, चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) कातर्फबाट युवराज केसी, रुरुक्षेत्र गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) कातर्फबाट यदु ज्ञवाली, छत्रकोट गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट रामप्रसाद पाण्डे गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, जिल्लाको गुल्मीदरबार गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट सरोजकुमार थापा, इस्मा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट भगतसिंह खड्का, धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट भुपाल पोखरेल, मदाने गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट महेन्द्रबहादुर कुँवर र मालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट देबिराम अर्याल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, रेसुंगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उप–प्रमुख अमृतादेवी कुँवर, १४ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । नगरप्रमुख पन्थीले पनि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै नगरप्रमुख पन्थीले कुनै पनि आग्रह पूर्वाग्रह नराखी जनताको काम गरेर सफल जनप्रतिनिधि बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रेसुंगालाई समुन्नत र सुन्दर नगरपालिका बनाउन आफू नेतृत्वको टिम लाग्ने बताउनुभयो । सबैलाई एकताबद्ध बनाई रेसुंगा नगरपालिकाको विकासमा हातेमालो गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । जिल्लाभरी नै प्रभाव पर्ने गरी नगरपालिकामा विकास गर्ने उहाँको भनाइ छ ।

“जसरी रेसुङ्गाको शिर अटल छ त्यसै गरी रेसुंगाबासीको शिर ठाडो हुने गरी काम गर्नेछु”, उहाँले भन्नुभयो, “आफ्नो कार्यकालमा जनताको शासक होइन सेवक बनेर काम गर्नेछु ।”

अहिले निर्वाचनमार्फत विशाल परिवार जनप्रतिनिधिहरु जोडिएको भन्दै गरिब र विपन्न परिवारको जिवनस्तर उकास्ने गरि काम गर्न पनि वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।