• ४ असार २०८१, मङ्गलबार

मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिनुहुने

blog

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । फाइल तस्बिर

जनकपुर, जेठ १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले अहिलेसम्म इमानदारी र निष्पक्षरुपमा काम गर्दै आएको छु । जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ ।” 

जनकपुरमा आज पत्रकारहरूसँगको कुराकानी मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताउनुभयो । “ससर्त सबै पालिका प्रमुखले सोधिरहनु भएको छ । प्रदेश सरकारको काम कर्तव्यअनुसार हामीले काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । उहाँले आफू अल्पमतको मुख्यमन्त्री नभएको दाबी गर्नुभयो ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन् । सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी )का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक-एक सांसद छन् । 

यसैबिच, आज मुख्यमन्त्री यादवलाई एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय जसपा नेपालको विभाजनले मधेस प्रदेशको सरकार अल्पमतमा परेको जनाइएको छ । नयाँ सरकार कुन दलको नेतृत्वमा हुने भन्ने टुङ्गो छैन । सरकार गठनमा ‘निर्णायक’ अवस्थामा रहेका साना दलहरू आफैँ मुख्यमन्त्रीमा दाबी गर्न थालेपछि ठुला दललाई अप्ठ्यारो परेको जनाइएको छ । रासस