• ३ असार २०८१, सोमबार

नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै

blog

नेपाली क्रिकेट टोली । फाइल तस्बिर

काठमाडौँ, जुठ १४ गते । अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार (आज) राति पहिलो ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दैछ । 

विश्वकप अघि आइसिसीले तय गरिदिएको दुई ‘वार्मअप’ खेलमध्ये नेपालले पहिलो खेल क्यानडासँग खेल्न लागेको हो । डालासमा ९:१५ बजे सुरु हुने खेलमा जित निकाल्दै नेपाल विश्वकपअघि बलियो मानसिकता बनाउने तयारीमा छ । नेपालले दोस्रो खेल बिहीबार आयोजक अमेरिकासँग खेल्नेछ । 

त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जुन ४ तारिख खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बङ्गलादेशसँग खेल्नेछ । 

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।