• ३ असार २०८१, सोमबार

‘निजामती सेवा विधेयक आगामी असारभित्र’

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी । फाइल:तस्बिर

विराटनगर, जेठ १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताउनुभएको छ । सो मन्त्रालयद्वारा आयोजित ‘सङ्घीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उहाँले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताउनुभएको हो । 

विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उहाँको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उहाँले बताउनुभयो । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रूपमा लिएको बताउनुहुँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताउनुभयो । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिकजस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिनमा प्रशासनिक अप्ठ्यारो हुने कुनै काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो । मुलुकमा प्रशासनिक र वित्तीय संरचना कमजोर रहेको उहाँको धारणा थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको बजेट हात्ती दुब्लाएर मुसो भएको जस्तो छ, जनताका चाहना र आवश्यकता धेरै छ, कसरी पूरा गर्न सकिन्छ ।”  रासस