• १५ वैशाख २०८१, शनिबार

सन्दर्भ : विश्व मिर्गौला दिवस

डायलासिसको पालो पाउन मुस्किल

blog

काठमाडौँ, चैत १ गते । मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो । 

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दैनिक १६० जना बिरामीको डायलासिस हुने गरेको छ । अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठले अस्पतालमा ४९ वटा मेसिनबाट निरन्तर डायलासिस भएको जानकारी दिनुभयो । आकस्मिक कक्षमा भने दैनिक १५ देखि २० जनाको डायलासिस हुने गरेको छ । 

डा. श्रेष्ठले डायलासिसका लागि नयाँ बिरामीले पालो पाउन मुस्किल रहेको जानकारी दिनुभयो । सीमित स्रोतसाधन तथा कम जनशक्तिले गर्दा थप बिरामीलाई डायलासिस गर्न कठिन भएको उहाँको भनाइ छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि दैनिक ५० देखि ६० जनाको डायलासिस हुने गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो । 

डा. श्रेष्ठले मिर्गौलासम्बन्धी समस्याको लक्षण देखिनासाथ स्वास्थ्यमा सावधानी अपनाउँदा जोगिन सकिने बताउनुभयो । उहाँले मिर्गौलाले काम नगरेपछि मात्र बिरामी अस्पताल आउने गरेकोभन्दै मिर्गौला रोग नियन्त्रण गर्न सकिने भए पनि सुरुमा बेवास्ता गरेका कारण मिर्गौलासम्बन्धी बिरामी बढिरहेको बताउनुभयो । 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले समय समयमा आफ्नो मिर्गौलाको अवस्था कस्तो छ भनेर परीक्षण नगर्दा पनि मिर्गौलासम्बन्धी रोगका बिरामी बढेको बताउनुभयो । उहाँले पिसाब परीक्षणले मात्रै पनि मिर्गौलाको समस्या थाहा पाइने हुनाले समय समयमा पिसाब परीक्षण गर्न सुझाव दिनुभयो । 

सरकारी अस्पतालबाहेक विभिन्न निजी अस्पतालमा समेत मिर्गौलाको उपचार हुने गरेको छ । मिर्गौलाको उपचार हुने अस्पतालमा पुग्ने मिर्गौलाका बिरामी एकै पटक मिर्गौलाले काम नगर्ने भएपछि डायलासिस गर्न जाने गरेका छन् । समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गराएमा मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ । 

वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठले उच्च रक्तचाप, मधुमेहलगायतका समस्या छन् भने यसलाई नियन्त्रण गरे मात्र मिर्गौलासम्बन्धी रोगबाट बच्न सकिने बताउनुभयो । स्वास्थ्यमा समस्या नभई अस्पताल नजाने बानी अधिकांश नेपालीमा रहेको भन्दै उहाँले मिर्गौलाले काम गर्न छोड्नुअघिका लक्षणको उपचार गर्न सके यो समस्या आइहाल्ने अवस्था नहुने बताउनुभयो । 

डा. श्रेष्ठले भन्नुभयो, “स्वास्थ्यमा समस्या भए पनि पीडा नहुन्जेल खप्ने बानी छ, जतिबेला मानिसले खप्नै सक्दैन, त्यसबेला मात्र अस्पताल जान्छन् तर त्यसबेला ढिला भइसकेको हुन्छ ।” उहाँले उच्च रक्तचाप भएका बिरामी, मधुमेह भएका बिरामी, बढी गर्मीमा काम गर्ने व्यक्तिले मिर्गौला परीक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । 

अङ्गदानमा लैङ्गिक शोषण रहेको बताउँदै डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपणमा ९० प्रतिशत दाता महिला र ९० प्रतिशत ग्रहणकर्ता पुरुष रहेको जानकारी दिनुभयो । उहाँले प्रत्यारोपण केन्द्रमा एक हजार २१४ जनाको मिर्गौला प्रत्यारोपण भएकोमा ग्रहणकर्ता ८० प्रतिशत (९५९ जना) पुरुष रहेको जानकारी दिनुभयो । यस्तै महिला ग्रहणकर्ता २० प्रतिशत (२४५ जना) मात्र छन् । मिर्गौलादातामा भने २७ प्रतिशत ३२८ पुरुष र महिला ७३ प्रतिशत ८७६ जना महिला छन् । 

उहाँका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष एक प्रतिशतका दरले ह्रास आउने बताउनुभयो । श्रेष्ठले बढ्दो उमेरसँगै देखिने मधुमेह, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताउनुभयो ।  

यसैबिच बिहीबार विश्व मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।  

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।