• ५ माघ २०८१, शनिबार

धमाधम टाँगिँदै तार

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन २९ गते । हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत सर्लाहीको बाँके जङ्गल क्षेत्रमा तार टाँग्ने काम धमाधम अगाडि बढेको छ । 

महोत्तरीतर्फको जङ्गलमा रहेका टावरमा तार चढाउने काम सकेर अहिले सर्लाहीतर्फको बाँके जङ्गल क्षेत्रमा काम भइरहेको हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सर्लाहीको बाँके चोक र फूलजोर चोकबिचको फूलजोर बाबा साझेदारी वन क्षेत्रमा प्राविधिक तथा कामदार खटिएर धमाधम तार टाँग्ने काम गरिरहेका हुन् । 

उहाँले सर्लाहीको जङ्गल क्षेत्रमा केही सातादेखि निरन्तर काम भइरहेको बताउनुभयो । यादवले भन्नुभयो, “महोत्तरीतर्फ काम सकेर अहिले सर्लाहीको बाँके जङ्गल आइपुगेका छौँ । प्रसारण लाइनको टावरमा इन्सुलेटर राखेर धमाधम तार चढाउने काम भइरहेको छ ।” 

उहाँले जङ्गल क्षेत्रको काम सकेपछि लालबन्दी, हरिवन र बागमती नगरपालिकामा तार जडानको काम अगाडि बढाइने बताउनुभएको छ । राष्ट्रिय आयोजना अन्तर्गत पर्ने प्रसारण लाइनको लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा मुआब्जाको विवादले गर्दा लामो समयसम्म काम रोकिन पुगेको थियो । 

जियाजोरको विवाद मिलेसँगै जिल्लाभित्र प्रसारण लाइनको कामले गति लिएको हो । स्थानीयलाई सहमतिमा ल्याएर जियाजोर क्षेत्रको काम पूरा भइसकेको छ । जियाजोरमा टावर गाडेर तार टाँग्ने काम पूरा भइसकेको आयोजनाले जनाएको छ । लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेमगरले स्थानीयसँगको सहमति अनुसार मुआब्जा प्राप्तिको काम अगाडि बढेको जानकारी दिनुभयो । 

उहाँले सहमति अनुसार मुआब्जा पाउने आसमा स्थानीय रहेका बताउनुभयो । वडाध्यक्ष आलेले भन्नुभयो, “बारम्बारको छलफलपछि मुआब्जामा सहमति जुटेको छ । मुआब्जाको फाइल अगाडि बढिसकेको जानकारी पाएका छौँ ।” 

आफूहरूलाई मर्का नपर्ने गरी प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा दिनुपर्ने माग गर्दै स्थानीयले पटक पटक अवरोध गरेका थिए । सुरक्षाकर्मीको सहयोग लिएर जियाजोर खण्डको काम अहिले भने पूरा भएको हो । मुआब्जाको विवाद मिलाउन स्थानीयसँग सुरक्षा अधिकारी, आयोजनाका प्रमुखसहित अन्य कर्मचारी, जनप्रतिनिधिलगायतले पटक पटक वार्ता गरेका थिए ।