रामकृष्ण बोहरा
बागलुङ, असार ८ गते । जिल्लाको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज सङ्कलन र बजारीकरणमा साथ दिने लक्ष्यसहित अक्षेते बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण सुरु गरिएको छ । काठेखोला गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सङ्कलन केन्द्र निर्माण थालिएको हो ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारणसँगै सहज बजारीकरणका लागि सङ्कलन केन्द्र प्रभावकारी हुने गाउँपालिकाले अपेक्षा गरेको छ । कृषि तथा पशुपालनको क्षेत्रका काम गरिरहेको बिवाईसी बागलुङको व्यवस्थापन, हेफर र काठेखोलाले आर्थिक साझेदारीमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाअन्तर्गत कृषि उपज सङ्कलन केन्द्र निर्माण थालिएको हो ।
सङ्कलन केन्द्र निर्माणका लागि काठेखोला गाउँपालिकाले ७० प्रतिशत र हेफर नेपालले ३० प्रतिशत लगानी गर्ने छन् । ६६ लाख कुल लागत अनुमान गरिएको सङ्कलन केन्द्र निर्माणमा चालु आर्थिक वर्षमा ३६ लाख रुपियाँ खर्च गरिने छ भने आगामी आर्थिक वर्षमा ३० लाख रुपियाँ खर्च गरिने छ ।
भवन निर्माणको काम एमके टेडर्सले गरिरहेको छ । कृषि उपज सङ्कलन केन्द्रको सञ्चालन भने महिलाहरु मात्र आवद्ध रहेको समृद्व काठेखोला कृषि महिला सहकारीले गर्ने छ ।
केन्द्रमा दुध, गेडागुडी, फलफुल र तरकारीलगायतका खाद्य सामग्री सङ्कलन गरी ग्रेडिङ, लेबलिङ र प्याकेजिङपछि बजारीकरण गरिने कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो । केन्द्र बनेपछि किसानले उत्पादन गरेको फलफुल, तरकारी र खसीबोकाले उचित मूल्य पाउने र बिचौयाको दबदबा तोडिने संयोजक उपाध्यायले बताउनुहुन्छ ।
‘‘सङ्कलन केन्द्रमार्फत सहकारी र व्यापारीसँग सिधा सम्पर्क गरिने र यसले बिचौलियासँगको सम्पर्क तोडिने भने किसानले परिश्रमको मूल्य पाउने छन्’’ उपाध्यायले भन्नुभयो ।
“गाउँका किसानले उत्पादन गरेका कृषि उपज सहज रुपमा बजार पठाउन सहयोग पुर्याउने उद्देश्यले सङ्कलन केन्द्र बनाएका हौं” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो । पालिकामा उत्पादन हुने नाङ्लो, डाली, मकैको भुत्लाबाट उत्पादन हुने फुलजन्य सामग्री सङ्कलन गरी कृषि उपज केन्द्रमा ‘‘काठेखोला कोसेली घर’’ समेत सञ्चालन गरिने भएको छ । गाउँपालिकामा हुने सभा समारोह र मेला महोत्सवमा अतिथीलाई उपहार दिन कोसेली घरका सामग्री प्रयोग गरेर आयातित वस्तुलाई विस्थापित गरिने अध्यक्ष थापाले योजना सुनाउनुभयो ।
हरेक उत्पादनलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरी गाउँका उत्पादनको सङ्कलन, स्तरीकरण र ब्राण्डिङ गरी बजारीकरण गर्ने नीति लिएको काठेखोलालले बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्याण्डी), जुस र अचारलगायतका सामग्रीहरु कोसेली घरमा राखिने अध्यक्ष थापाले जानकारी दिनुभयो । आगामी वर्षदेखि कोदोको रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्नेगरी आवश्यक प्रक्रियासमेत पालिकाले अघि बढाएको छ ।
गाउँपालिकाले व्यवसायिक तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनीकिट अनुदान कार्यक्रम, चिया, अलैची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन नीति ल्याएको छ । नीजि क्षेत्रसँग समन्वय गरी जडिबुटीको उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले नीति सार्वजनिक गर्नुभएको छ ।