साँफेबगर समाचारदाता
अछाम, असार ८ गते । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती राजमार्गको निर्माण तीव्र रूपमा अघि बढेको छ । नौ वर्षदेखि बन्ने भन्दै चर्चा मात्रै हुँदै आएको तर बन्न नसकेको सेती राजमार्गको निर्माण सुरु भएपछि तीव्रता पाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन गर्नमा भएको ढिलाइले सेती राजमार्गको दक्षिण खण्डको काम प्रभावित हुँदै आएको थियो ।
सेती राजमार्ग अन्तर्गत दक्षिणी खण्डको डोटीमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि जेठ २१ गते अनुमति पाएसँगै निर्माणले गति पाएको छ । सेती राजमार्ग अन्तर्गत डोटीको बडीकेदार गाउँपालिकाका चार वटा वडा र बोगटान फुड्सिल गाउँपालिका–३ अन्तर्गत रहेको राष्ट्रिय वन क्षेत्रको कुल ८० हेक्टर जग्गामा रहेको रुख कटानका लागि समेत अनुमति दिइएको थियो । ४० किलोमिटर रहेको डोटी क्षेत्रमा वन मन्त्रालयबाट अनुमति पाएसँगै ट्र्याक खोल्ने कामको सुरुवात भएको सेती राजमार्ग आयोजना प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । “दुई किलोमिटर ट्र्याक खोल्ने काम भएको छ,” आयोजना प्रमुख चन्दले भन्नुभयो, “अहिले डोटी क्षेत्रमा युद्धस्तरमा काम हुँदै छ । बर्सातको समयमा पनि त्यस क्षेत्रमा काम हुने छ ।”
छ वटा पुल निर्माण गर्न बाँकी
सेती राजमार्गमा सानाठुला गरेर छ वटा पुल निर्माण हुन बाँकी रहेको आयोजना प्रमुख चन्दले जानकारी दिनुभयो । सेती नदी, ठुली गाड, कैलालीको प्रतापपुर, दुर्गौली, सेलीगाउँ, चित्रेखोलामा पुल निर्माणको काम बाँकी रहेको छ ।
अछाम खण्डको सेती नदीदेखि बाजुराको सीमासम्म करिब ८० किलोमिटर सडक रहेको छ । त्यस अन्तर्गत अब साढे दुई किलोमिटर मात्रै ट्र्याक खोल्ने काम बाँकी रहेको सेती राजमार्ग आयोजनाका इन्जिनियर युवराज जोशीले जानकारी दिनुभयो । “चित्रेदेखि डोटीको सिमानासम्म ३४ किलोमिटर दुरी रहेको छ,” इन्जिनियर जोशीले भन्नुभयो, “अब डोटीको सिमानासम्म पुग्न साढे दुई किलोमिटर मात्रै बाँकी छ ।” असारभित्रै काम पूरा हुने गरेर ठेकेदारले काम अघि बढाएको उहाँले दाबी गर्नुभयो । इन्जिनियर जोशीले भन्नुभयो, “साँफेबगर नगरपालिका–१२, खप्तडको तुकासम्म सेती राजमार्ग आयोजना र बाँकी रहेका ठाउँमा स्थानीय तहले सडकको निर्माण गरेका छन् ।”
“सेती राजमार्गको साँफेबगर क्षेत्रमा चार किलोमिटर कालोपत्रे भएको छ,” इन्जिनियर जोशीले भन्नुभयो, “कैलालीमा १४ किलोमिटर र साँफेबगर क्षेत्रमा वडा नं. १ बैजनाथबाट चित्रेसम्मको पाँच किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ ।” यो वर्षको कात्तिक÷मङ्सिरसम्म कालोपत्रे हुने इन्जिनियर जोशीले जानकारी दिनुभयो ।
अछाम निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य शेरबहादुर कुँवरले एक वर्षभित्र ट्र्याक खोल्ने काम पूरा गर्ने गरेर आफूले केन्द्र सरकार र सेती राजमार्ग आयोजनाका प्रमुखसँग निरन्तर छलफल गर्दै आएको बताउनुभयो । बजेटको अभावमा सेती राजमार्गको काम नरोकिने उहाँले दाबी गर्नुभयो । सरकारले आगामी आव २०८२/८३ का लागि ४१ करोड रुपियाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
सेती राजमार्गलाई दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपूर्ण कोरिडोरका रूपमा लिएको प्रतिनिधि सभा सदस्य कुँवरले बताउनुभयो । सेती राजमार्ग अन्तर्गत कैलालीको दुर्गौलीदेखि डोटीसम्म ७२, डोटीमा ४०, सेती नदीदेखि चित्रेसम्म ३४ र चित्रेदेखि बाजुराको सिमानासम्म ४६ किलोमिटर रहेको छ ।
सेती राजमार्ग कैलालीको दुर्गौली, अछामको लोडेघाट साँफेबगर, बाजुराको काँडा हुँदै बझाङको छान्नादेखि चैनपुर भएर तिब्बतको ताक्लाकोटसम्मको सो सडकको लम्बाइ ३६६ किलोमिटर रहेको छ । दक्षिणी खण्डको लम्बाइ कैलालीदेखि चैनपुरसम्म २४६ र उत्तरी खण्ड चैनपुरदेखि नेपालको उरै सीमासम्म १२० किलोमिटर रहेको छ ।