• १५ वैशाख २०८१, शनिबार

निजामतीमा उमेरहद बहस

विज्ञ भन्नुहुन्छ ‘फ्रेस जनशक्ति ल्याउने प्रयास हो’

blog

काठमाडौं, फागुन २६ गते । प्यूठान जुम्रीकाँडा गाउँपालिकाका गोविन्द न्यौपाने कीर्तिपुरमा बसेर लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ । निजामती सेवामा प्रवेश गरेर केही गर्ने सोच भएका उहाँलाई पछिल्लो समय संघीय संसद सचिवालयमा दर्ता भएको संघीय निजामति सेवा ऐनको विधेयकले निरासा बनाएको छ । 

३१ वर्ष पुग्नुभएका उहाँ आगामी वर्षदेखि निजामती सेवामा प्रवेश गर्ने उमेरहद ३२ वर्पमा कायम राख्ने प्रस्तव सुनेर झस्किनुभयो । उहाँले भन्नुभयो, “३१ वर्षको भएँ,  दुई–तीन वर्षमा त निजामती सेवामा प्रवेश गरौँला भन्ने सोचेको थिएँ । तर निजामती सेवामा प्रवेशको अन्तिम उमेरहद ३२ वर्ष कायम हुँदैछ भन्ने सुन्दा दुःख लागेको छ ।” 

विदेश जानुभन्दा नेपालमै केही गर्छु भन्ने सोच बनाउँदा समेत केही गर्न दिने वातावरण नहुँदा आफूलाई दुःख लागेको उहाँले सुनाउनुभयो । लोकसेवा पास गर्न कुनै विश्वविद्यालयको जस्तो यति पढेपछि उत्तीर्ण हुन्छु भन्ने छैन, उमेरहद नै घटाउने भन्ने प्रस्ताव सुनेपछि त झन मन मरेर आयो, उहाँले भन्नुभयो ।

लामो समयपछि निजामती सेवा ऐनको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

उमेरहद छोट्याउने प्रस्ताव बैतडीका हरि अबस्थीलाई पनि मन परेको छैन । “लोकसेवा पास गर्छु भनेर अहिले पढिरहेको छु, ३० वर्ष भइसँके, यही व्यवस्था लागू भयो भने दुई वर्षमा निकाल्न सकिएन भने त के गर्ने भन्ने भइसक्यो” उहाँले भन्नुभयो, “बरु अवकासको उमेरहद ६० वर्ष बनाउनु ठिक होला, तर सेवा प्रवेशको उमेरहद घटाउनु गलत छ ।”  

लामो समयपछि निजामती सेवा ऐनको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी कार्यविधि २०८० संघीय संसदमा पेश गर्ने तयारी रहेको छ । 

विवादित विषयलाई मध्यमार्गी बाटोबाट सल्टाएर निजामती सेवा ऐनको विधेयक अघि बढाइएको छ । यस विधेयकमा संघीय निजामती सेवामा तहगत प्रणाली पनि अबलम्बन गर्ने व्यवस्था रहेको छ । अहिले निजामती सेवामा तह र श्रेणी दुवै रहने व्यवस्था छ । 

प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेश गर्ने अन्तिम उमेरहद घटाइएको छ । पुरुषको हकमा ३२ वर्षे प्रस्ताव गरिएको छ । महिलाको लागि ३७ वर्ष कायम गरिएको छ । अहिले सेवा प्रवेशमा पुरुषकोे उमेरहद ३५ वर्ष छ भने महिलाको हकमा ४० वर्ष कायम  छ । अपाङ्गता भएकाको हकमा पनि ४० वर्ष कायम छ । सेवा प्रवेश गरेपछि भने उमेरहद लाग्दैन । 

महत्वपूर्ण समय अन्यत्र ब्यतित गरेर मात्र केही नभएपछि निजामती सेवामा आकर्षित हुने गरेकाले फ्रेस जनशक्तिको आगमन होस् भनेर नै यो व्यवस्था गरिएको हो । 

प्रस्तावित विधेयकमा उमेरहद घटाइएको प्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ । अहिले निजामती विधेयक संघीय संसद सचिवालयमा दर्ता मात्र भएकाले त्यसमा आवश्यक छलफल गरी संसदबाट पारित भएपछि मात्र त्यो कार्यान्वयनमा जान्छ । अहिलेको प्रस्तावअनुसार संसदबाट पारित भएमा भने नयाँ जनशक्तिलाई सेवा प्रवेशमा धक्का लाग्ने बुझाइ धेरैको छ । विज्ञले भने यो व्यवस्थाले निजामती सेवामा फ्रेस जनशक्तिको आगमन हुने बताउनुभयो ।  

फ्रेस जनशक्ति आउँछ 

प्रशासन विज्ञ काशिराज दाहालले निजामती सेवामा सेवा प्रवेशको उमेरहद घटाउनुको मूख्य उद्देश्य फ्रेस जनशक्तिको आगमन होस् भन्ने रहेको बताउनुभयो । उहाँका अनुसार महत्वपूर्ण समय अन्यत्र ब्यतित गरेर मात्र केही नभएपछि निजामती सेवामा आकर्षित हुने गरेकाले फ्रेस जनशक्तिको आगमन होस् भनेर नै यो व्यवस्था गरिएको हो । 

उहाँले भन्नुभयो, “निजामती सेवामा फ्रेस जनशक्ति आउन् भनेर नै उमेरहदलाई कम गरेर प्रस्ताव गरिएको हो । यो सकारात्मक छ । महत्वपूर्ण समय अन्यत्र व्यतित गरेर मात्र यो सेवामा आउने सम्भावना भएकाले फ्रेस जनशक्ति ल्याउन यो व्यवस्था गरिएको हो ।” 

उहाँका अनुसार यो व्यवस्थापछि निजामती सेवाको पाठ्यक्रम पनि पुनरावलोकन आवश्यक पर्ने उहाँको भनाइ छ । आफ्नो संयोजकत्वमा गठित प्रशासन सुधार आयोगले पनि निजामती सेवाको उमेरहदको विषयमा अवकास उमेरलाई ६० वर्ष कायम गर्न सुझाव दिएको उहाँले बताउनुभयो । तर, सेवा प्रवेशको उमेरमा भने पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष कायम थियो । 

यही अभ्यास छ  

पूर्वसचिव कृष्णहरी बास्कोटा निजामती सोवामा अहिले प्रस्ताव भएको उमेरहद संसारकै अभ्यास भएको बताउनुहुन्छ । विश्वमा नै युवाशक्तिलाई राष्ट्रसेवकको रुपमा लिने प्रचलन रहेकाले नेपालको हकमा पनि यो व्यावहारिक हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “संसारभर नै राष्ट्रसेवकमा उपयुक्त हुने उमेरहद ३२ वर्षको हाराहारीमै छ ।  त्यसकारण नेपालमा पनि निजामती सेवको उमेरहद यही प्रस्ताव हुनु स्वभाविक हो ।”

सबै निजामती सेवामा मात्र लाग्नुपर्छ भन्ने सोच्न नहुने बताउँदै उहाँले थप्नुभयो,  “देशमा भएका सबै जनशक्ति निजामतीमै आउनुपर्छ भन्ने सोच्नु हुँदैन । निजामतीभन्दा अन्य काम पनि धेरै छन् । त्यसैले ३२ वर्ष कटेपछि केही गर्न सकिँदैन कि भनेर सोच्नु हुँदैन ।” 

संसारभर नै राष्ट्रसेवकमा उपयुक्त हुने उमेरहद ३२ वर्षको हाराहारीमै छ ।

नेपाल प्रहरी, नेपाली सेनामा पनि सेवा प्रवेशको अन्तिम उमेरहद २१ देखि २४ वर्षसम्म तोकिएकाले निजामती सेवामा पनि नयाँ व्यवस्था हुँदा कुनै फरक नपर्ने उहाँको भनाइ छ । विश्वविद्यालयको पढाइ सकेको आठ वर्षसम्म सेवा प्रवेशको अबधि तोकिनुलाई राम्रो रुपमा लिनुपर्ने उहाँको तर्क छ । 

उहाँले भन्नुभयो, “विश्वविद्यालयको पढाइ २४–२५ वर्षमा सकिन्छ । त्यसको ७–८ वर्षको अवधि निजामती सेवाका लागि छुट्याउनु राम्रो हो । यो अबस्थामा राम्रो जनशक्ति निजामती सेवामा आउँछ, भन्ने सोचिन्छ ।” 

नेपालीको औषत उमेर बढे पनि निजामती सेवामा प्रवेशको उमेर पनि बढ्नुपर्ने तर्क भने उपयुक्त नहुने उहाँको भनाइ छ । बरु अबकासको उमेर ६० वर्ष पुगाउँदा पेन्सनको रुपमा जाने राज्यको रकम केही घट्ने उहाँले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।